नेपालमा पनि बढ्दै कालो ढुसीको संक्रमण,तीन जनाको ज्यान गयो

कोभिड १९ (कोरोना भाइरस) महामारीका कारण जनतामा त्रास फैलिरहेका बेला फेरि ‘कालो ढुसी’ को संक्रमणमा वृद्धि भएको छ । कालो ढुसीको संक्रमणका कारण ३ जनाको ज्यान समेत गएसँगै यसको त्रास झन् बढ्न थालेको हो । 

कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा देखिएको कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कुनै उपचार नभएको उक्त रोगको उपचारका लागि संक्रमितलाई भारत पठाउने गरिएको छ । अहिले विरगञ्जमा कालो ढुसीको संक्रमण बढ्दै गएको र थप उपचारका लागि पाँच जनालाई भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले जानकारी दिनुभयो ।

मृत्यु भएका तीनै जनाको मुख बिग्रिएको, आँखा सुनिएको थियो । नेपालमा यसको उपचार कठिन रहेको चिकित्सकहरुले बताएका छन् । करिब एक महिनाअघि वीरगन्जकै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक कालो ढुसीको संक्रमण पुष्टि भएको थियो । वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । 

कालो ढुसी मानिसबाट मानिसमा सर्ने रोग नभएको र हावा तथा माटोबाट सर्ने अध्ययनले देखाएको छ ।  जुन रोग प्रतिरोधी क्षमता कमजोर भएका र लामो समय औषधि सेवन गरेका व्यक्तिमा संक्रमण हुने गर्दछ । स्टेरोइड (अक्सिजन लेभल घटेको बेला दिइने औषधि) सेवन गरेका र दीर्घ रोगीमा संक्रमण गर्ने सम्भावना बढी हुने डा. सिंहको भनाइ छ । कालो ढुसीको संक्रमण भएका व्यक्तिमा अचानक नाक दुख्ने, नाकबाट सिंगान बग्ने, आँखा दुख्ने, आँखा सुन्निन जस्ता लक्षण देखिन्छ । यसले शरीरका विभिन्न अंग कुहाउने काम गर्दछ । 

कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरू 

१. अनुहार मुख नाक, आँखा वरिपरि दुख्ने

२. आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने

३. नाकबाट रगत बग्ने, बाक्लो सिंगान आउने

४. ज्वरो आउने

५. आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने

६. दाँत दुख्ने वा हल्लिने

जोखिम क–कसलाई हुन्छ ?

१. ४५ देखि ६५ उमेर समूह

२. शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू

३. धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधि लामो समयसम्म प्रयोग गर्नेहरू

रोकथामका उपायहरू

१. सफा र सुख्खा मास्क प्रर्योग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने

२. नियमित रूपमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

३. व्यक्तिगत स्वच्छतामा ध्यान दिने

४. घर बाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने

५. धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने

६. नुनिलो पानीले नाक सफा गर्ने

७. पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने

८. जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने

९. सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने

१०. स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्