धादिङका थप २८ जनामा डेंगु संक्रमण, संक्रमितको सङ्ख्या ६६२

धादिङ,१४ असोज ।
धादिङमा पछिल्लो २४ घण्टामा २८ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज १९ पुरुष र ९ महिला गरी २८ नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।

योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगु बिरामीको संख्या ६६२ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ३८२ जना पुरुष र २८० महिला गरी कुल ६६२ जनामा संक्रमण पुष्टि भएको छत्कुलीले बताउनुभयो।

परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा ३४९, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ३७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै धुनिबेशीका ३१, गल्छीका २३, ज्वालामुखीका २१, सिद्धलेकका १३, थाक्रेका ८, नेत्रावती डवजोङका ५, बेनिघाट रोराङका ५, रुवीभ्यालीका २३ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ८० जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको छत्कुलीले बताउनुभयो । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ ।

डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने लामखुट्टेको टोकाईबाट लाग्ने हुनाले डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक छत्कुलीले आग्रह गर्नुभएको छ ।

डेँगु रोगको रोकथामको लागि गर्नै पर्ने क्रियाकलापहरु ः
१.गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔँ ।
२.पानीको ट्याङकीलाई लामखुटे प्रवेश गर्न नसक्ने गरी ढाकेर राखौँ ।
३.पुरा बाहुला भएको शरीर पुरै ढाक्ने कपडा लागाऔँ ।
४.दिउँसो वा राति सुत्दा झुल प्रयोग गरौ साथै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔँ ।
५.घरको झ्याल ढोकामा जाली लगाऔँ ।
६.घर वरीपरी सफा सुग्घर राखौ र पानी जम्ने खाल्डा खुल्डी पुरौ ।
७.आफु बसोबास गर्ने स्थानमा लामखुटेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने अभियान चलाऔँ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्