आज फुलपाती (सम्पादकीय)

धादिङ,१६ असोज ।
विजया दशमीको महत्वपूर्ण दिन फुलपाती आज भित्र्याइदैछ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधि पूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ।

गत १० गतेका दिन घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजा आजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने प्रचलन अनुसार फुलपाती भित्र्याइदैछ ।

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा अनुसार हनुमानढोकामा फुलपाती भित्र्याएपछि विधिवत रुपमा फुलपाती भित्रिएको मानिनेछ ।

आजैका दिनदेखि सरकारी कार्यालयका सबैजसो सेवा हरु बन्द हुनेछन् । सरकारले विजयादशमीको पर्व मनाउने फुलपातीका दिनदेखी विदा दिने भएको भएपनि फुलपातीको अघिल्लो दिन शनिबार परेकोले यो वर्ष एक दिन बढी विदा परेकोले फुलपाती भित्र्याउनेहरुको लागि थप तयारीको अवसर प्राप्त भएको छ । यसले समेत यो वर्षको फुलपाती अझ तामझाम हुने निश्चित जस्तै छ ।

यस वर्ष भन्दा अघिल्लो वर्षहरुमा पनि कहिले कोरोनाको लहर त कहिले के को गरी सामान्यत दशैं खल्लो नै रहेको अनुमान गरिएका थिए भने यो वर्ष महंगी बाहेक अन्य समस्याहरु छैनन् । अति विपन्नहरुका लागि केही महंगो हुने निश्चित भएपनि अन्यका लागि यो वर्ष हर्सोल्सास हुने अनुमान छ ।

फुलपातीको अघिल्लो दिन शनिबार परेकाले व्यापार व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र भैसकेको छ ।दशैंलाई विशेष गरी गाउँ केन्द्रित बनाउने गरिएका कारण शहर भन्दा गाउँको रौनकता उच्च हुने गरेको छ ।

घटस्थापनाका दिन दसैँघर अथवा पूजाकोठामा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी राखिएको जमरामा सातौ दिन आज नवदुर्गाको छैटौँ रुप कात्यायनीको पूजाआराधना गर्ने चलन अनुसार सबैतिरको तयारीहरु भैरहेका छन् । यो वर्षको दशैंले आमनागरिक, आफन्त इष्टमित्र, साथीभाई तथा गुरुवर्ग प्रतिको सद्भाव कायम गर्ने कार्यमा बलियो खम्बाको रुपमा काम गर्नेछ यस अर्थमा दशैं सबैले सबैको भलो गरोस् आम नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा शुभकामना ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्