बाँकेको अधिकांश स्थानीय तह डुबानमा

केहीदिन यतादेखि निरन्तर परेको बर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुवान तथा बाढीले प्रभावित भएका छन । प्राकृतिक विपद्का कारणले करिव ५०० घरपरिवारका कम्तीमा ३ हजार ५०० विस्थापित भएका छन् ।

सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३०० घरधुरी विस्थापित भएको जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । “विस्थापित भनेका जोखिम देखेर घर छाडनेहरु हुन” उहाँले भन्नुभयो । विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको र केही घर समेत फिर्ता भएको उहाँले बताउनुभयो । बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ ।

त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरि र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१८ र २० का तीन सय भन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका छन । बाढीले नरैनापुरका २ सय घर भत्केका छन् । त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारीदिनुभयो । उहाँले पीडितलाई राहत र उद्धारका लागि पटक पटक अनुरोध गरेको जानकारी दिदै चारदिनदेखि विद्युत समेत नभएको बताउनुभयो ।

नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहा लगायत धेरै बस्ती डुबानमा परेका छन् । “यहाँका सबै स्थान पानीले भरिएको छ ।”उहाँले भन्नुभयो । जिल्ला विपद व्वस्थापन समितिको बैठकले बाढी प्रभावतिको तथ्यांक संकलन गर्ने, तत्कालका लागि सुख्खा खाना उपलब्ध गराउने निर्णय गरेको छ । वढी र डुवानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानिय सरकारले राहत उपलब्ध गराउने निर्णय समेत भएको सूचना अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

डुडुवामा राहत व्यवस्थापन डुडुवा गाउँपालिकामा बाढी पीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सयलाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेको बताउनुभएको छ । डुडुवा १ का छिटाईपुर्वास्थित दुई पाझा टोलका करिब १ सय २० जना र सोही वडाअन्तर्गत कृषि चौफेरी, वोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब २ सय ५० अहिले बाढी र डुबानबाट वस्थापित भएर गाउँ नजिकै पालिकाले निमार्ण गरेको आश्रयस्थलमा उनीहरु बसिरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि आश्रयस्थलमा पुगेका स्थानीयहरुलाई अहिले तत्काल तयारी खाजा र ४–५ दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ । उहाँले केही दिनसम्म स्थानीय पीडितहरु भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गर्दै गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्