गठबन्धनका उम्मेद्वारलाइ भोट दिन नेताहरूको संयुक्त आग्रह

काठमाडौँ,०१ कात्तिक ।
सत्ता गठबन्धन दलले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका छन् ।

मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारीमै गठबन्धन गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले लोकतन्त्र, संविधान र विधिको शासन मार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन् गर्न र गठबन्धनलाई अत्यधिक बहुमतसहित जिताउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज संयुक्त अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्ध रहेका संयुक्त अपिलमा भनिएको छ ।

दलहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटनलगायत तत्कालीन सरकार प्रमुखको अनेकौं स्वेच्छाचारी कदमहरूलाई परास्त गर्न र संविधानको रक्षा गर्न अहिलेको सत्ता गठबन्धन बनेको र निरन्तरता आवश्यक रहेको दाबी गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्