धादिङमा निषेधाज्ञा असार ८ सम्म

धादिङ,३१ जेठ । 
धादिङमा असार ८ गते सम्म निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि सोमबार बसेको कोभिड व्यवस्थापन समिति (DCCMC) को बैठकले असार ८ गते  राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो। गत बैशाख २१ बाट सुरु भएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यो सँगै जिल्लामा निषेधाज्ञा चौथो पटक थपिएको छ । 

बैठकले निषेधाज्ञा समयमा खाद्यान्न,फलफुल तरकारी र दुग्द्यजन्य पदार्थ, फ्रेस हाउस तथा मासु पसल लगायतका अत्यावश्क सामाग्री बिक्रि गर्ने पसल खुल्ने समय १ घण्टा थप गरेको छ । हाल बिहान ६ बजे देखि ९ बजेसम्म मात्रै खुल्दै आएको अत्यावश्क सामाग्री बिक्रि गर्ने पसल अब बिहान ११ बजेसम्म खोल्न पाउने भएको छ ।

विकास निर्माणजन्य सामग्री बिक्री गर्ने दर्तावाल पसलहरू, विद्यार्थीहरूका पुस्तक बिक्री गर्ने पुस्तक पसलहरू र प्रिन्टिङ प्रेस  पनि बिहान ६ बजे ११ बजेसम्म खुल्ला गर्न सकिने निर्णय भएको छ । 

जिल्लाभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम कर्मचारी खटाई स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी/गराई नियमित बैङ्किङ कारोबार गर्ने समेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

यसैगरी कोभिडको दोस्रो लहरपश्चात कोरोना जोखिम संक्रमण रोकथाम तथा नियन्त्रण गर्न विभिन्न संघ संस्थामार्फत स्थानीय तहहरूमा प्राप्त भएका उपकरण तथा सहयोग सामग्रीहरूको विवरण स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग माग गर्ने, साथै आगामी दिनमा सहयोगस्वरुप प्राप्त हुने स्वास्थ्य सामग्रीहरू संघ संस्थाले हस्तान्तरण गर्दा स्वास्थ्य कार्यालयसँग समन्वय गरेर मात्र गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्