यसपालिको मनसुन झन् जोखिमपूर्ण– १८ लाख मानिस प्रभावित हुने अनुमान

धादिङ,०१ असार । 
देशैभर यसपालिको मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ । यस वर्षको मनसुनबाट धादिङ जिल्लाका मात्रै ६ हजार ३८ मानिस प्रभावित हुन सक्ने अनुमान गरेको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दोलखाका ८ हजार २ सय ९५ घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा सिन्धुपाल्चोकका ६ हजार ६ सय १३ घरपरिवार प्रभावित हुनेछन् । यस्तै तेस्रोमा बाजुराका ६ हजार १ सय ४१, चौथोमा धादिङका ६ हजार ३८ र पाँचौंमा प्यूठानमा ४ हजार ४ सय ५८ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ । 

गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति व्यहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन्। जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आकलन सार्वजनिक गरिसकेको छ।

उक्त चेतावनीसँगै आमनागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो। गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो। सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४ सय मानिसको मृत्यु भएको थियो। एक हजार एक सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्