फिल्म फ्लप हुँदा घर बेच्नुपरेको थियो ज्याकी श्राफले

काठमाडौं– आयशा श्राफले फिल्म बनाएकी थिइन् ‘बूम’। तर यो बक्स अफिसमा फ्लप भयो। त्यसपछि ज्याकी श्राफ र उनको परिवारले आर्थिक संकटको सामना गर्नुपरेको थियो। हालै ज्याकीले एक अन्तर्वार्तामा त्यतिबेला फिल्म फ्लप भएपछि भोग्नुपरेको पीडा सुनाएका छन्। 

उनले भनेका छन्, ‘त्यतिबेला मैले मेरो घर बेच्नुपरेको थियो, अनि ऋण चुुुुक्ता गर्नका लागि दोब्बर मेहनत गर्नुपरेको थियो।’

‘बुम’ सन् २००३ मा रिलिज भएको थियो, जसमा अमिताभ बच्चन, गुलशन ग्रोवर, पद्मा लक्ष्मी, कैटरिना कैफ लगायत कलाकार प्रमुख भूमिकामा थिए। ज्याकीभन्दा अगाडि यो फिल्म फ्लप भएपछि भोग्नुपरेको नोक्सानीबारे टाइगर श्राफले पनि बताइसकेका छन्। अहिले फेरि ज्याकीले पनि १८ वर्षअघि भोगेको संकटबारे खुलाएका हुन्। 

ज्याकीले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई थाहा थियो, हामीले केही गर्ने कोसिस गरेका थियौँ र केही गुमायौँ। यदि मैले यसका लागि भोग्नुपरेको थियो भने मैले भोगेँ पनि। जति सकेँ त्यतिसम्म काम गरेँ र सबैको पैसा चुक्ता गरेँ ताकि मेरो परिवारको नाम क्लियर होस्। बिजनेसमा अप–डाउन हुन्छ, यो जरुरी छैन कि हामी सधैं माथि नै रहिरहुँ, कहिले माथि, कहिले तल हुन्छ नै, तर आफ्नो विवेक र नैतिकतालाई कसरी कायम राखिरहने भन्ने जान्नचाहिँ सधैँ जरुरी हुन्छ।’ 

उनले थप भनेका छन्, ‘मेरो बच्चाहरुले केही पनि बुझेनन् त्यतिबेला। उनीहरु साह्रै साना थिए र हामीले हाम्रो चिन्ता उनीहरुसम्म पुग्न पनि दिएनौं।’ टाइगरले त्यतिबेला ज्याकीसँग गुमेको घर फिर्ता लिएरै छाड्ने वाचा गरेका थिए। टाइगरबारे ज्याकी भन्छन्, ‘मलाई मेरा दुई बच्चाप्रति गर्व छ। घर फिर्ता पाउनका लागि उनीहरु काफी मजबूत छन्। जबकी मेरी पत्नी यसलाई फिर्ता पाउन चाहँदिनन्। उनले भनेकी थिइन्– छोड्देउ, जे गयो, त्यो गइसक्यो। तर, मेरा बच्चाहरुको सोच राम्रो थियो। उनीहरु आफ्नो ममी र परिवारका लागि एउटा घर बनाउन चाहन्छन्।’

जुन २०२० मा टाइगरले पनि त्योे घर गुमेको पल याद गर्दै भनेका थिए,‘मलाई सम्झना छ कि कसरी हाम्रो फर्निचर एक–एक गरेर बेचिएको थियो। जुन चिजहरुलाई मेरो आसपास देखेर म हुर्किएको थिएँ, त्यो सबै गायब भइरहेको थियो। विस्तारै म सुत्ने खाट पनि गएको थियो। म भुइँमा सुत्न थालेको थिएँ। यो मेरो जीवनकै नमिठो महसुस थियो।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्