यस्तो छ,नेत्रावती डवजोङ गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट

धादिङ,१० असार ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को को नीति कार्यक्रम र बजेट सर्व सम्मत रुपमा पारित गरेको छ । गाउपालिकाले आर्थिक वर्ष २०७८/०७९ लागि कूल ३९ करोड १० लाख ९४ हजार रुपैंयाको बजेट ल्याएको छ ।

यस्तो छ,नेत्रावती डवजोङ गाउँपालिकाको वार्षिक निति तथा कार्यक्रमको पुर्ण पाठ

नेत्रावती डबजोङ गाउँपालिकाको गाउँसभाका सभाध्यक्ष, गाउँसभा सदस्य ज्यूहरु, अतिथि ज्यूहरु, सम्पुर्ण कर्मचारीहरु तथा उपस्थित सम्पुर्ण बुबा, आमा, दाजु भाई तथा दिदीवहिनीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।

संघीयताको मर्म तथा नेपालको संविधान २०७२ बमोजिम स्थानीय सरकार सञ्चालन भएको चार बर्ष पुरा भइसकेको यो समयमा हामी यहाँ आगामी आ.व. २०७८।७९को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछौ । यो चौँथो बर्षमा स्थानीय सरकार सञ्चालन गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, शिक्षकहरु, पत्रकारहरु र नागरिकहरुमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ । आगामी दिनमा पनि यस्तै सहयोग, सुझावको अपेक्षा गर्दछौं ।

स्थानीय सरकारको आवधिक समयको अन्तिम बर्षमा जनताका अपेक्षा तथा हाल सम्मको विकास निर्माण तथा सेवा प्रवाहलाई पक्कै पनि यहाँहरुले मूल्यांकन गर्नु भएको छ । मलाई लाग्छ, आम सर्वसाधारण जनताले परिवर्तनको महसुस गर्नुभएको छ । हामी निर्वाचित भएर आए पश्चात् भएका भौतिक, सामाजिक, प्रशासनिक, आर्थिक परिवर्तनमा यस गाउँपालिकाबासी नागरिकहरुको अहमं भूमिका छ ।

 नेपाल सरकारले स्थानीय तह क्षमता मूल्यांकन कार्यविधि, २०७७ (LISA) तयार गरि सो अनुरुप प्राकृतिक स्रोत तथा वित्त आयोगबाट स्थानीय तहमा बजेट बाडँफाड  गर्ने नीति लिइए बमोजिम हामीले पनि उक्त परिधि भित्र रही हाम्रो सिमीत स्रोत साधनबाट जनताका महत्वपूर्ण अपेक्षालाई अन्तिम बर्ष भए पनि समेट्नु पर्ने चुनौती छ । तथापि ”गाउँगाउँमा सिंहदरवार’ भन्ने गरेको भनाई जस्तै स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने सेवा सर्वसाधारण समक्ष पुर्याई सहज रुपमा आवधिक निर्वाचन मार्फत् नयाँ नेतृत्व हस्तान्तरण गर्नु पर्ने चुनौती र अवसर समेत हामीलाई प्राप्त भएको अवस्था छ । हाल सम्म प्राप्त राजनैतिक, सामाजिक, सांस्कृतिक तथा भौतिक उपलब्धिहरुलाई संस्थागत गर्दै यस ४ बर्षे कार्यकालमा भएका कमी कमजोरीलाई सच्याउँदै बाकीँ अवधिमा सहकार्य, समन्वयका साथ गाउँपालिकालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दछौँ ।

उपस्थित सम्पूर्ण महानुभावहरुः

अब म यस नेत्रावती डबजोङ गाउँपालिकाको चालु आ.व. २०७७/०७८ मा सम्पादित क्रियाकलापको मुख्य मुख्य छोटकरी रुपमा समिक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु

  • प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत गाउँपालिका, बागमती प्रदेश तथा संघ सरकारको समन्वय, सहकार्य तथा समपुरक अनुदानमा टोड्के देखि गाउँपालिका भवन निर्माण स्थल सम्म कालोपत्रे गर्ने गरी स्थानीय पूर्वाधार विकास आयोजना सँग मिति २०७८।०१।०२ मा  सम्झौता भई सो सडक ठेक्का लाग्ने प्रक्रियामा रहेको र आगामी २ बर्ष भित्र सम्पन्न हुनेछ ।
  • सामाजिक सुरक्षा भत्ता वितरण पारदर्शी गर्न बैकिङ्ग प्रणालीबाट नियमित भुक्तानी दिने व्यवस्था मिलाएको छु । साथै विगतका सम्पूर्ण व्यक्तिगत घटना दर्ता Digitization गरी तत्पश्चात् ब्यक्तिगत घटना दर्ता सबै वडाहरुमा अनलाइन मार्फत् सेवा प्रवाह हुने व्यवस्था मिलाइएको  छ । सामाजिक सुरक्षामा थप नागरिकको अपनत्व अभिवृद्धि गर्न अपाङ्ग परिचय पत्र घुम्ती सेवा प्रवाह मार्फत् वितरण गरिएको छ ।
  • नागरिकको स्वास्थ्यमा सहज पहुँच स्थापना गर्ने उद्देश्यले वडा नं. ४ मा १५ शैयाको अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउने व्यवस्था मिलाएको छु । साथै किन्ताङ्गफेदी स्वास्थ्य इकाइको स्तरोन्नति गरेको छु । स्वास्थ्य चौकीहरुमा थप अक्सिजन सहितको नियमित स्वास्थ्य सेवा सुविधा उपलब्ध भएको छ । आर्युवेद चिकित्सा पद्धति प्रति आम नागरिकको भरोसा अभिवृद्धि गर्न नागरिक आरोग्य केन्द्र स्थापना गरि नियमित सेवा दिन आवश्यक व्यवस्थापन गरिएको छ ।
  • यस गाउँपालिकाको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र हेराहा ताल संरक्षणार्थ पदमार्ग निर्माण कार्य अगाडी बढाएको छु । साथै बिन्दुकेशर महादेव तिर्थस्थल संरक्षण तथा निर्माण गरी रात्रि समयमा पनि पुजाआजा गर्न सक्ने गरि सौर्य बत्ती जडान गरेको छु ।
  • नागरिकको जीउ, ज्यान जोखिम देखिएको वर्तमान सन्दर्भमा यस गाउँपालिकाका नागरिक समेत कोभिड-१९ बाट प्रभावित भएको स्थितिमा वडा नं. ५ रिप गाउँमा आइसोलेशन भवन निर्माण गरेको छु ।
  • यस गाउँपालिका भित्र कृषि क्षेत्रको विकास गरी कृषिलाई वैज्ञानिक बनाउन चालु आ.व.मा गोठ -खोर सुधार कार्यक्रम निरन्तरता तथा प्लाष्टिक टनेल वितरण गरेको छु । साथै कृषकलाई मिनिटिलर उपलब्ध गराएको छु ।

अब म आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

उपस्थित सम्पूर्ण गाँउ सभा सदस्य ज्यूहरु,

क) पूर्वाधार तथा संरचना विकासः

  • निर्वाचित जनप्रतिनिधि आएको चार वर्ष पूरा भईसकको अवस्थामा गाउँपालिकाको सेवालाई जनताको नजिक पुर्याउन आवश्यक कदम चालिनेछ । गाउँपालिकामा पुर्वाधार विकास निर्माणका कार्यहरुलाई जनताले अनुभुत गर्न सक्ने गरी जनमूखी, पारदर्शी, परिणाममूखी बनाईनेछ ।
  • नेत्रावती डबजोङ गाउँपालिकाले रिङरोड बनाउने योजना अनुसार विस्तृत अध्ययनको काम सकिसकेको छ । आगामी आ.व.०७८।७९ मा संघीय सरकार र प्रदेश सरकार सँग समपूरक अनुदान मार्फत रिङरोडको स्तरोन्नती गरिनेछ । साथै गाउँपालिका भित्रका सम्पुर्ण वडा कार्यालय देखि गाउँपालिकाको कार्यालय सम्मको सडकलाई स्तरोन्नती गरिनेछ ।
  • उपभोक्ता समितिबाट गरिने सार्वजनिक निर्माणका कार्यमा स्थानीय उपकरणको उपयोगमा बढी जोड दिईनेछ र अनिवार्य रुपमा मेशिनरी औजार प्रयोग गर्नु पर्ने ठाउँमा गाउँपालिकाकै मेसिन प्रयोग गर्न लगाईनेछ ।
  • उपभोक्ता समितिबाट हुने कार्यलाई प्रभावकारी बनाउन उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई दोसल्ला सहित पुरस्कृत तथा कदरपत्रले सम्मान गरिने नीतिलाई निरन्तरता दिइनेछ ।
  • सडक निर्माण गर्दा  कुल रकमको ठुलो योजनामा ५ प्रतिशत साना योजनाहरुमा १० प्रतिशत बायोइन्जिनियरिङ लागि खर्च निति लिएको छु

ख) आर्थिक विकास

कृषि विकास तथा सहकारी

  • सहकारी क्षेत्रमा भइरहेको विकृतिलाई अन्त्य गर्दै सहकारी क्षेत्रलाई रोजगारमुखी बनाइनेछ । एकै प्रकृतीका सहकारीहरु मर्ज गरी गाउँपालिकामा क्षेत्रगत एक सहकारी मात्र सञ्चालन गर्ने नीति लिईनेछ । गाउँपालिकाबाट हुने अनुदानको कार्यक्रममा सहकारी संस्थालाई आवद्ध गरिनेछ ।
  • सहकारी संस्थाहरु एक आपसमा मर्ज गरेर सक्रिय बनाइने छ । नागरिक, सहकारी र गाउँपालिकाको निष्पक्षिय सम्बन्धबाट कृषि कार्यक्रमहरु अगाडी बढाइने छ ।
  • राज्यले एक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र बनाउने लक्ष्य लिए बमोजिम अगाडी बढिने छ ।
  • कोरोना महामारीबाट प्रभावित भई स्वदेश फर्केका युवाहरुलाई कृषि पेशामा आवद्ध गराउन आवश्यक कार्यक्रमहरु ल्याईनेछ । कृषि पेशामा स्थानीय युवालाई अग्रसर गराई वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या अत्न्य गराउने लक्ष्य लिएको छ ।

ग) सामाजिक विकासः

शिक्षा युवा तथा खेलकुद

  • विद्यालय बाहिर शून्य बालबालिका कार्यक्रम संचालन गरिनेछ । जस अन्तर्गत गाउँपालिका भित्रका गरिव, अति विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीलाई शिक्षाको पहुँचमा सहजै पुर्याउन लागि सहायता रकम मार्फत् अध्ययन कार्यक्रम निरन्तरता दिने गरी अगाडी बढाईनेछ ।
  • सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरु तथा शिक्षिकाहरुलाई शिक्षामा नियमितता कायम राख्न निःशुल्क स्यानिटरी प्याड वितरणलाई निरन्तरता दिइनेछ ।
  • विद्यालयमा विद्यार्थीको संख्या र आवश्यक शिक्षक संख्या हेरी दरबन्दी मिलानको कार्यक्रम अगाडी बढाइनेछ ।
  •  शैक्षिक सामाग्री व्यवस्थापन तथा प्रविधि मैत्री बनाई पूर्व प्राथमिक शिक्षाको गुणस्तर बृद्धि गर्ने ।

स्वास्थ्य सम्बन्धी नीतिः

  • भोगटेनीमा निर्माण सम्पन्न भई सकेको १५ शैया अस्पताल सञ्चालनमा ल्याउन प्रशासनिक तथा भौतिक र कार्यालय व्यवस्थापनमा जोड दिइनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीलाई नियन्त्रण गर्न आवश्यक कदम चालिनेछ । प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईहरुलाई आवश्यक स्वास्थ्य सामग्री प्रयाप्त मात्रामा उपलब्ध गराईनेछ ।
  • स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिदै यस आ.व.मा नेत्रावती डबजोङ गाउँपालिकाका सम्पूर्ण नागरिकलाई स्वास्थ्य विमा गराईनेछ ।
  • गर्भवती महिलाहरु घरमा शुन्य सुत्केरीः गाउँपालिका घोषणाको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिएकोमा यस कायक्रमलाई निरन्तरता दिईनेछ । गर्भवती तथा सुत्केरी महिलाहरुले पाउँदै आएको पोषण भत्तालाई निरन्तरता दिएको छु ।
  • गर्भवती तथा सुत्केरी महिलाका अतिरिक्त सुनौलो हजार दिनका बालबालिकाको लागि पोषण कार्यक्रम थालनी गरिनेछ ।

लक्षित वर्ग (महिला, बालबालिका तथा अन्य)

  • योजना तर्जुमा, कार्यान्वयन तथा नीति निर्माणमा महिला, एकल महिला, दलित, जनजाती, बालबालिका, अपाङ, अल्पसङ्ख्यकको अर्थपूर्ण सहभागिता गराउने नीति लिईनेछ । समावेशीकरणको लागि क्षमता विकास कार्यक्रम र पूर्वाधार विकासको लागि बजेट विनियोजन गरेको छु ।
  • विपन्न तथा पिछडिएका वर्गका महिलाहरुलाई लक्षित गरी समग्र महिलाहरुको सशक्तिकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  • बाल क्लब गठनलाई प्राथमिकता दिई बाल सञ्जाल एवं बालबालिकाको क्षमता विकास सम्बन्धी कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरि बालमैत्री गाउँ तुल्याउने नीति अंगीकार गरिने छ ।
  • अपांगता भएका व्यक्तिहरुको सम्पर्क हुने सबै भौतिक संरचनालाई अपांगमैत्री बनाउदै लगिनेछ ।
  • दलित एवं पछाडि परेको वर्गको हक अधिकारको प्रवद्र्धन एवं निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्दै सशक्तिकरण, क्षमता विकास सीप विकस एवं चेतनामूलक कार्यक्रमहरु संचालन गरिने छ ।
  • आदिवासी, जनजाति समुदायको भेषभूषा, कला, साहित्य, भाषा एवं संस्कृतिको संरक्षण र प्रबर्द्धनका लागि विशेष पहल गरिनेछ ।

घ) खानेपानी तथा सिंचाई

  • गाउँपालिका भित्र खानेपानीको मुहान विवाद गर्न नपाईने तथा मुहान दर्ता गर्न नपर्ने नीति लिईएको छ । खानेपानीको अभावलाई मुक्त गर्न आवश्यक व्यवस्था गरिनेछ । खानेपानीको समस्या समाधान गर्न मिटर जडित एक घर एक धारा प्रणालीलाई अवलम्वन गरी खानेपानीको वितरणलाई सहज बनाईनेछ ।
  • एक घर एक धारा नीति अन्र्तगत आगामी आ.व.सम्ममा बाँकी रहेका घरमा पनि धारा निर्माण गरि गाउँपालिकाका सम्पूर्ण नागरिकमा स्वच्छ खानेपानिको पहुँच पुर्याइने छ ।

ङ) पर्यटन क्षेत्र

  • पर्यटकीय हव बनाउने उद्धश्य सहित गाउँपालिकाको पर्यटकीय स्थल वाकाराहा नजिक Home Stay संचालनमा ल्याउने छ र Home Stay क्तबथ प्रर्वद्धनका निमित्त स्थानीय नागरिक तथा युवाहरुलाई सक्रिय बनाईनेछ ।
  • ‍तामाङ तथा नेवार संस्कृतिको प्रवर्द्धन गर्वको लागि प्रदेश सरकारसँग समन्वय गरि गाउँपालिका भित्र तामाङ तथा नेवार संग्रहालय बनाई गाउँपालिकाको पुरात्वात्तिक सम्पदा लगायत पुराना परम्परा झल्काउने सबै पक्षको संरक्षण र सर्वेक्षण गरिनेछ । 
  • पर्यटन पबर्द्धन गर्न पर्यटन सम्मेलन गरी यस ठाउँको सम्भावनालाई प्रचारप्रसार गरिनेछ ।यसले कोरोना भाईरसको कारण थिलोथिलो भएको पर्यटन ब्याबसायलाई केहि हदसम्म माथि उकास्न सहयोग पुर्याउँछ र पर्यटकको संख्यामा बृद्धि हुनेछ ।

च) वातावरण तथा विपद व्यवस्थापन

  • विकास कार्यहरु संचालन गर्दा दिगो विकासको अवधारणा अनुरोध वातावरणीय पक्षको मूल्याङ्कन गरी विकासका कार्य गर्ने नीति अवलम्बन गरिनेछ ।
  • प्रत्येक वडामा एक/एक वटा समिति निर्माण गरी वन तथा वातावरण संरक्षणका निम्ति परिचालन गरिनेछ ।साथै वन्यजन्तु तथा चराचुरुङ्गीको चोरी सिकारी नियन्त्रण गरिनेछ ।
  • बाढी नियन्त्रणको लागि जोखिमयुक्त ठाउँमा विरुवा रोप्ने कार्यक्रम तय गरिनेछ । त्यसै गरी बाढी पहिरो हुने भुक्षय नियन्त्रण गर्न र जोखिमयूक्त बस्तीमा नदि खोला नियन्त्रणको लागि आवश्यक तटबन्ध निर्माण कार्यलाई प्राथमिकतामा राखेको छु ।

छ) सूचना प्रविधि,  संस्थागत सेवा प्रवाह र सुशासन

  • गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट दिईने सम्पूर्ण सेवाहरुलाई छिटो छरितो, भरपर्दो, गुणस्तरीय बनाउन विद्युतीय नागरिक वडापत्र लागु गरिनेछ । सेवालाई सूचना प्रविधि मैत्री बनाई विद्युतीय शासनको अवधारणा लागू गर्ने नीति लिएको छु । कर्मचारीहरुलाई सूचना प्रविधि सम्बन्धी तालिमको व्यवस्था गरी दक्ष बनाइनेछ ।
  • गाउँपालिका तथा वडा कार्यालयका कर्मचारीहरु एवं विषयगत निकायका कर्मचारीको क्षमता विकास गर्न विभिन्न खाले तालीम एवं सीप विकास सम्बन्धी गोष्ठीहरु आयोजना गर्ने एवं अन्य निकायसँग समन्वय गर्ने निती लिएकोछु ।
  • सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी एवं व्यवस्थित गरिनेछ । बैकिङ्ग सेवा विस्तार भएकोले सुरक्षा भत्ता वितरण बैंक खाता मार्फत गर्ने वितरणलाई निरन्तरता दिने व्यवस्था मिलाउएको छु ।
  • गैह्रसरकारी संस्थाको आफुखुसी कार्यक्रम गर्ने पद्धतिलाई अन्त्य गरी आवश्यकतामा आधारित कार्यक्रमलाई गाउँसभाबाट स्वीकृत गरेर मात्र काम गर्न दिईनेछ । गैह्रसरकारी संस्थाको कामकारवाहीको अनुगमन गरी पारदर्शी बनाईनेछ ।
  • राजश्वको दायरा, प्रक्षेपण तथा पारदर्शिता, औचित्यता, नियमितता र गत वर्षको आयलाई मध्यनजर गरी समय सापेक्ष कर मैत्री शिक्षा, हाम्रो करः हाम्रै विकास निर्माणका लागि भन्ने अभियान सञ्चालन गरिनेछ ।

उपस्थित सम्पूर्ण गाँउ सभा सदस्य ज्यूहरु,

अन्त्यमाः

अघिल्ला आ.व.हरुमा उल्लेख गरिएका नीति तथा कार्यक्रमहरु पुरा नभएसम्म निरन्तरता दिने प्रतिवद्धता जनाउदै यस गाउँपालिकाको बजेट निर्माण, नीति कार्यक्रम र निर्णय कार्यान्वयन प्रक्रियामा सहयोग पुर्याउनु हुने सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, सेवाग्राही तथा गाउँपालिकाबासी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

दुर्ग कुमार शाक्य

अध्यक्ष

यस्तो छ नेत्रावती डबजोङ गाउँपालिकाको आ.ब. २०७८/०७९ को बजेट वक्तब्य पुर्ण पाठ

नेत्रावती डबजोङ गाउँपालिकाकों गाउँ सभाका सभाध्यक्ष ज्यू, प्रमुख अतिथि, बिशेष अतिथि, उपस्थित सम्पुर्ण अतिथिगण, गाउँसभाका सदस्यहरु, यस नेत्रावती डबजोङ गाउँपालिकाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,सम्वन्धित बिषयगत निकायका कर्मचारी बर्ग, पत्रकार साथीहरु, नागरिक समाजका प्रतिनिधिहरु, गैर सरकारी संस्थाका प्रतिनिधि तथा कर्मचारी, बिभिन्न समुह सहकारी संघ संस्था र संगठन बाट पाल्नु भएका सम्पर्ण प्रतिनिधीहरु, महिला, दलित, अपाङ्ग, जेष्ठ नागरिक, सुरक्षाकर्मी, लगायत बिभिन्न तह र क्षेत्र बाट यस सभामा पाल्नुभएका बिद्धान बर्ग एवं सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु ।

सर्वप्रथम यस गरिमामय सभामा यहाँहरु माझ उभिईरहदा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र प्राप्तिको लागि र त्यसैको जगमा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प सहित भएका बलिदानी पूर्ण आन्दोलनहरुमा त्यागका साथ उत्सर्ग गर्ने सम्पुर्ण महान शहिदहरु प्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै सम्मान ब्यक्त गर्दै द्धन्द पीडितहरु तथा देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न अहम भुमिका खेल्ने सम्पुर्ण ज्ञातअज्ञात ब्यक्तिहरु लाई स्मरण गर्न चाहन्छु ।

ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक धार्मिक तथा पर्यटकीय महत्वका दृष्टिले अन्यन्त सवल सम्भावना बोकेको भएतापनि समग्र आर्थिक, सामाजिक विकास र प्रकृयालाई अघि बढाउन हाम्रा सामु केही चुनौतिहरु पनि छन् । डबजोङ दरबार, वाकाराहा, महाभिर चुली, विन्दुकेशर महादेव, ताङ्जोमाने, हेराहा ताल, चमेरो गुफा, लोङीई खुङ गुफा, चिलिङ्जो,ज्यम्पल दोर्जे डुब्खाङ बौद्ध दर्शन अध्ययन केन्द्र, अष्ठ चैत्य, सातकन्या देवी, बाघ भैरव मन्दिर, घाटु नाच स्थल, अकला देवी मन्दिर, आँखुखोला जस्ता प्राकृतिक तथा धार्मिक स्थलहरु यस क्षेत्रका सम्भावनाका श्रोतहरु हुन ।

सभाका अध्यक्षज्यू,

आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले निम्न दस्तावेजहरूलाई आधारको रुपमा लिएको छु ।

  • नेपालको संविधान
  • स्थानीय सरकार संचालन ऐन, २०७४
  • राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन, २०७४
  • अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
  • संघीय र प्रदेश सरकारले जारी गरेको नीति, कानुन र मापदण्डहरू
  • स्थानीय तह बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा हस्तान्तरण सम्बन्धी निर्देशिका २०७४
  • संघीय तथा प्रदेश सरकारका आवधिक विकास योजनाहरू
  • गाउँपालिकाको आन्तरिक श्रोत साधन
  • वडा कार्यालयहरूबाट प्राथमिकता निर्धारण भै आएका योजना तथा कार्यक्रमहरू
  • गाउँपालिकाद्वारा आयोजित अन्तरक्रिया, छलफलबाट प्राप्त सुझावहरू
  • संघ र प्रदेश सरकारले अवलम्वन गरेका आर्थिक नीतिहरू
  • विभिन्न साझेदार संस्थाहरूसँग भएका सहर्कायको प्रतिवद्धता आदि ।
  • संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण सम्बन्धी मार्गदर्शन ।
  • कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कार्यविधि ।

आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासनको प्रत्याभुति विकासमा दिगोपन लगायतका क्षेत्रमा रहेको थुप्रै चुनौतिहरू तथा वर्तमानको संक्रमणको अवस्था र सो को प्रभावलाई सम्बोधन गर्ने क्रममा प्राप्त मार्गदर्शनहरूलाई संघीय र प्रदेश सरकारका कार्यक्रमसँग समन्वय गरी साझेदार संस्थाहरूसँगको सहकार्यलाई समेत अगाडि बढाउने गरी बजेट तयार गरेको छु ।

सभाका अध्यक्षज्यू,

अब म आगामी आर्थिक वर्षको बजेटको उद्देश्य, प्राथमिकता तथा आय-व्ययको विवरण प्रस्तुत गर्न चाहन्छु ।

उद्देश्य

  • दिगो विकासका लक्ष्य पूरा गर्ने ।
  • रोजगारी, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने ।
  • उपलब्ध श्रोत र साधनको सन्तुलित र न्यायोचित वितरण गर्ने ।
  • शिक्षा, स्वास्थ्य तथा सामाजिक कल्याणमा गाउँपालिकाको भूमिका बढाउने ।
  • सुशासनको प्रत्याभुति गराउने ।
  • मौलिक हकको रुपमा रहेको न्युनतम आधारभुत आवश्यकताहरूको परिपुर्ति गर्ने ।

प्राथमिकता

  • दीगो र वातावरण मैत्री सडक स्तरोन्नतीको कार्य सम्पन्न गर्ने ।
  • खानेपानीको पहुँच विस्तार गरी तिर्खामुक्त गाउँ बनाउने ।
  • उद्यमसिलताको अभिवृद्धि गरी स्वरोजगार सृजना तथा उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग गरी रोजगारी र उत्पादनमा वृद्धि गरी आर्थिक विकास गर्ने ।
  • नागरिकको जीवन रक्षात्मक कार्यहरूमा जोड दिने ।
  • कृषिमा व्यावसायीकरण, औद्योगिकीकरण गर्न सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने ।
  • आन्तरिक पर्यटकको आर्कषक गन्तव्य बनाउनुका साथै स्थानीय उत्पादनको प्रयोग तथा अर्गानिक उत्पादनमा जोड दिने ।
  • शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरण जस्ता क्षेत्रमा गाउँबासीको सरल पहुँच पुर्याउने ।

उपस्थित सम्पुर्ण महानुभाबहरु,

अब म यस नेत्रावती डबजोङ गाउँपालिकाको आ.ब. २०७८/०७९ को वजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

यस आर्थिक वर्षका लागि  कूल रकम रु. ३९,१०,९४, ००० रुपैंयाको वजेट प्रस्तुत गरेको छु । जस मध्ये आयका स्रोत यस प्रकार रहेको छ ।

१. नेपाल सरकार बाट प्राप्त अनुदान

क) बित्तीय समानीकरण रु. ९ करोड ८७ लाख

ख) शर्सत अनुदान रु. १२ करोड १ लाख ( ११,२४०० चालु र ७७०० पुँजिगत)

ग)  राजस्व वाडँफाड रु. ५ करोड १५ लाख ४९ हजार

घ) विशेष अनुदान रु. १ करोड ६६ लाख

२. बागमती प्रदेश सरकार बाट प्राप्त अनुदान

क) बित्तीय समानीकरण रु. ८० लाख ९० हजार

ख) राजस्व वाडँफाड रु.  १ करोड २० लाख

ग) समपुरक अनुदान रु. २ करोड ५० लाख १४ हजार

घ) सशर्त अनुदान रु.  १ करोड ९६ लाख ५५ हजार

३.  आन्तरिक आम्दानीबाट अनुमानित बजेट रकम रु. ६७ लाख

४. गाउँपालिकाको संचित कोष मौज्दात अनुमानित रकम रु. ३ करोड

यसरी आ.ब. २०७८/०७९ मा कूल रकम रु. ३९ करोड १० लाख ९४ हजार रुपैंयाका बराबरको आय हुन सक्ने भनि सोहि रकम वरावरको वजेट प्रस्तुत गरेको छु ।

यसमा विभिन्न सरकारी तथा गैर सरकारी सघं सस्ंथाहरुले सञ्चालन गर्ने कार्यक्रमहरुको खर्च समाबेश गरिएको छैन । यस सम्मानित गाउँ सभा मार्फत ती सस्ंथाहरुको कार्यक्रम पारित गरिए पछि गाउँ कार्यपालिकाको बैठक मार्फत उक्त रकम सार्वजनिक गरिने छ ।

आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु,

अव म आ.व.२०७८।०७९ मा हुने सम्पूर्ण व्यय तर्फको बजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु,

१) चालु तर्फः

गाउँपालिका तथा सम्पुर्ण वडा कार्यालयहरुको वार्षिक चालु प्रकृतिका सम्पूर्ण खर्चको लागि र  पदाधिकारीहरुको सेवा सुविधा गरी कुल जम्मा रु. ९ करोड ५० लाख रुपैंया विनियोजन गरेको छु ।

२)        क)  नेपाल सरकार सर्शत अनुदान तर्फको खर्चः १२ करोड १ लाख

तथा

ख) बागमती प्रदेश सरकार सर्शत अनुदान तर्फको खर्चः  १ करोड ९६ लाख ५५ हजार

 यस गाउँपालिका भित्र समाहित भएका विषयगत कार्यालयहरु जस्तै शिक्षा, कुषि, पशु, स्वास्थ्य, लक्षित वर्ग क्षेत्र, खानेपानी, भवन, संस्कृति संरक्षण लगायतकाहरुलाई सशर्त अनुदानमा नेपाल सरकारबाट प्राप्त रकम रु. १२ करोड १ लाख र बागमती प्रदेश सरकारबाट प्राप्त रकम रु. १ करोड ९६ लाख ५५ हजार विनियोजन गरिएको तत् शिर्षकमा नै खर्च गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको छु ।

३) बागमती सरकार समपुरक अनुदान तर्फको खर्च

चालु आ.व. ०७७।७८ मा जस्तै आगामी आ.व. ०७८।७९ मा बागमती प्रदेश सरकारबाट समपुरक अनुदान रकम रु.        २ करोड ५० लाख प्राप्त भए बमोजिम सो को लागि गाउँपालिकाले माग गरिएका सडक तर्फका योजनामा थप २ करोड ५० लाख नै व्यहोर्नु पर्ने  अर्थात् ५० प्रतिशत बजेटको आवश्यक प्रबन्ध मिलाई रु. २ करोड ५० लाख रकम  केन्द्र समानिकरणबाट उक्त योजनाहरु संचालन हुन सक्ने व्यवस्था मिलाएको छु ।

४) शसर्त अनुदान सामाजिक सुरक्षा तर्फ खर्च

नेत्रावती डबजोङ गाउँपालिका गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने सम्र्पूणको लागि नेपाल सरकारबाट सोही शिर्षकमा प्राप्त बजेटबाट अनुमानित एकमुष्ट रु. ५ करोड ६० लाख नै विनियोजन गरेको छु ।

५) नेपाल सरकार विशेष अनुदान तर्फको खर्च

यस गाउँपालिकामा नेपाल सरकारबाट विशेष प्रकृतिका योजनामा खर्च गर्ने गरी महेन्द्र बाराही मा वि भवन निर्माणको लागि प्राप्त रकम रु.  १ करोड ६६ लाख सोही शिर्षकमा खर्च गर्न सक्ने गरी व्यवस्था मिलाएको छु ।

६) बागमती प्रदेश सरकारबाट विशेष अनुदान तर्फको खर्च : कुनै पनि शिर्षकमा रकम प्राप्त नभएको । 

आदरणीय सभाध्यक्षज्यू,

अब म बित्तीय समानीकरण केन्द्र तथा बित्तीय समानीकरण बागमती प्रदेश सरकार, संचित कोष मौज्दात तथा आन्तरिक आम्दानीका स्रोतबाट व्यहोर्ने गरी व्यय प्रस्तुत गर्न चाहन्छु ।

६) सार्वजनिक निर्माण खर्च :

यस नेत्रावती डबजोङ गाउँपालिकाको समग्र विकास र सम्बृद्धिको लागि सम्पूर्ण क्षेत्रको लागि विनियोजन गरिएको रकमलाई सार्वजनिक निर्माण खर्च अन्तर्गगत राखिएको छ ।

आदरणीय जनसमूदायहरु अव म यस सार्वजनिक निर्माण अन्तर्गत विनियोजन गरिएको कुल रकमलाई शिर्षकगत राखी छुट्टा छुट्टै शिर्षकमा विनियोजन गरिएको रकम प्रस्तुत गर्न चाहान्छु ।

क) आर्थिक विकास

आर्थिक विकास तर्फ कुल रकम रु. २४ लाख ५० हजार विनियोजन गरेको छु । जस मध्ये कृषि तर्फ रु. १३ लाख ५० हजार, पशु तर्फ रु. ११ लाख विनियोजन गरेको छु ।

ख) सामाजिक विकास

सामाजिक विकास अन्तर्गत शिक्षा तर्फ रु. १ करोड ५० लाख ९४ हजार, स्वास्थ्य तर्फ रु. ७४ लाख ५३ हजार, लैगिंक समानता तथा समाबेशीकरण, पोषण तथा लक्षित वर्ग तर्फ रु. १३ लाख एवं खानेपानी तथा सरसफाई तर्फ रु. ३० लाख विनियोजन गरिएको गरिएको छ ।

ग) पुर्वाधार विकास

पुर्वाधार विकास अन्तर्गत स्थानीय सडक तर्फ रु. १७ लाख ४२ हजार  रुपैया विनियोजन गरेको छु ।

घ) वातावरण तथा विपद् व्यवस्थापन

वातावरण तथा विपद् व्यवस्थापन समिति अन्तर्गत यस गाउँपालिका भित्र विपद् व्यवस्थापन अन्तर्गत विपद् पूर्व सावधानी र तयारी तालिम तथा अभिमुखीकरणको लागि रु. ५ लाख, उद्धार सामग्री,  विपद् सामग्री खरिद तथा भण्डारण रु. १० लाख, राहत तथा उद्धार गर्न  रु. १० लाख रुपैँया, विपद् तथा प्रकोप व्यवस्थापन कोषमा रु. ४२ लाख विनियोजन गरिएको छु ।

ङ) संस्थागत विकास सेवा प्रवाह र सुशासन

संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ कुल रु. २५ लाख विनियोनज गरिएको छ । जस मध्ये न्यायीक प्रवद्र्धन तर्फ रु. १५ लाख स्थानीय तथ्याङ्क संकलन र सुशासन प्रवद्र्धन तर्फ रु. १० लाख विनियोजित गरिएको छ ।

आदरणिय सम्पुर्ण उपस्थित महानुभाबहरु,

माथि उल्लेख गरिएका सार्वजनिक निर्माण अन्तर्गत रहेका नितान्त प्राबिधिक विषय र खरिद गर्नुपर्ने सामाग्री बाहेक सबैमा प्रत्येक शिर्षकमा छुट्याईएको कुल रकम को ३ प्रतिशत कन्टिन्जेन्सी र पूर्वाधार निर्माण तर्फ २० प्रतिशत श्रमदान वा नगद जनसहभागितालाई समेत वजेटमा समाहित गरिएको छ । साथै यस गाउँपालिकाभित्र संचालन हुने आयोजना, योजनाहरुको व्यवस्थापन गर्नका लागि सर्भे, डिजायन कन्टेन्जेन्सी रकम मार्फत गरिने व्यवस्था गरेको छु । साथै समपुरक कोष बापत आवश्यक बजेट समेत विनियोजन गरेको छु ।

अन्त्यमा प्रस्ताबित वजेट योजना तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा सुझाब प्रदान गरी सहयोग गर्नहुने सम्पुर्ण महानुभाबहरु लाई धन्यवाद ज्ञापन गर्दछु । त्यसै गरी गाँउपालिका अध्यक्ष ज्यू, कार्यपालिका सदस्य ज्यू, सम्पूर्ण वडा समितिका सदस्यज्युहरु, कर्मचारी वर्ग, राजनैतिक दलका प्रतिनिधी ज्यूहरु तथा सम्पुर्ण महानुभाबहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछु । प्रस्तुत बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा स्थानिय जनसमुदायले अपनत्व ग्रहण गरी यसको कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा गरेको छु ।

प्रस्ताबित कार्यक्रम बाट गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाहमा गुणात्मक सुधार आई सुशासन वृद्धिमा सहयोग पुग्ने बिश्वास लिएको छु ।

आर्थिक वर्ष ०७८/०७९ को वजेट योजना तथा कार्यक्रम कार्यान्वयनमा गाउँबासी, नेपाल सरकार, प्रदेश सरकार, राजनैतिक दलहरु, नागरिक समाज, गैर सरकारी संघ सँस्था बैदेशिक दातृ संस्था र कर्मचारी लगायत सबै बाट सहयोगको अपेक्षा राखेको छु ।

धन्यवाद ।

उर्मिला तामाङ गुरुङ

उपाध्यक्ष तथा संयोजक

वजेट तथा कार्यक्रम तर्जुमा समिति

आ.व. २०७८/०७९ को लागि नेत्रावती डबजोङ गाउँपालिकालाई प्राप्त आय र व्यय

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्