नेपालमा कोभिड संक्रमित २२ जनामा कालोढुसी संक्रमण पुष्टि:औषधि अभाव

काठमाडौं,१८ असार।
नेपालमा कोरोना भाईरस संक्रमण पुष्टि भएका २२ जना बिरामीमा म्यूकर माईकोसिस (कालो ढुसी) को संक्रमण देखिएको छ । अहिले नेपालका विभिन्न जिल्लामा गरी २२ जनामा संक्रमण पुष्टि भएको तर अहिले कुन अस्पतालमा कति छन् भन्ने यकिन भईनसकेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका सूचना अधिकारी डा।समिर अधिकारीले बताउनुभएको छ ।

हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिलेसम्म म्युकर माईकोसिसका १५ जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये अहिले आठ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको र बाँकी डिस्चार्ज भएको अस्पतालका डा.राजेन्द्र प्रधानाङ्गले बताउनुभएको छ । डिस्चार्ज भएकामध्ये केहिको आँखाको शल्यक्रिया गरेर घर पठाईएको छ भने केहिको शल्यक्रिया गर्न नै नमिलेका कारण घर पठाउनु परेको उहाँले बताउनुभएको छ ।

शल्यक्रिया गरेर घर फिर्ता भएकाहरुमा पूर्णतया निको हुने सम्भावना कम नै रहेको उहाँको भनाई छ । यो शल्यक्रिया गरेपछि निको हुन्छ नै भन्ने नहुने,आँखा वरीपरी जमेको रगत सफा गरेर हेर्ने त्यसपछि मात्र शल्यक्रिया गर्ने नगर्ने निधो गरिने डा।प्रधानाङ्गले बताउनुभएयो ।कालो ढुसिको संक्रमण भएको शंका लागेपछि नै अस्पतालमा जान उहाँले सुभाव दिनुभएको छ ।

कालो ढुसीका बिरामीका लागि दिईने एम्फोटेरीसीन बी नामको औषधिको अहिले अभाव रहेको समेत उहाँले बताउनुभएको छ । यो औषधि कालाजारको बिरामीका लागि प्रयोग गरीदै आएको भए पनि पछिल्लो समय कालो ढुसीका बिरामीका लागि पनि प्रयोग गरीदै आईएको थियो ।

एम्फोटेरीसीन बी औषधिको अभाव रहेका कारण अहिले विकल्पका रुपमा पेसाकोनाजोल औषधिको प्रयोग गरीएको डा। प्रधानाङ्गले बताउनुभयो ।कालो ढुसिको संक्रमण भएकालाई प्रयोग गरीदै आएको कालाजारको एम्फोटेरीसीन बी नामको औषधि अहिले सकिएको र मन्त्रालय यो औषधि किन्ने प्रक्रियामै रहेको मन्त्रालयका सूचना अधिकारी डा।अधिकारीले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्