सप्तकोशी नदीमा शुक्रबार विहानदेखि निरन्तर पानीको बहाव बढ्दो छ। साँझ छ बजेको मापन अनुसार पानीको बहाव एक लाख ५४ हजार ३२५ क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।
निरन्तर पानीको बहाव बढेपनि अहिलेसम्म तटीय क्षेत्रमा कुनै समस्या भने छैन। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये २४ वटा खुल्ला गरिएको छ। पानीको बहाव बढेमा आवश्यकता अनुसार, अरु ढोका खुल्ला गर्न भारतीय पक्षलाई आग्रह गरिने स्थानीय प्रशासन कार्यालयले जनायो।
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार कट्नेवित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। दुई लाख कट्नेवित्तिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख कट्नासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।
कोशी व्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला वर्षमा पानीको बहाव चार लाखभन्दा मुनी नै रहेकाले कुनै अनुमान लगाउन सक्ने अवस्था छैन।
२०६५ भदौं २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोसी गाउँपालिकाका चारवटा बस्ती डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए। त्यो बेला तीन महिनाको निरन्तर प्रयासपछि सप्तकोसीलाई पुरानै धारमा फर्काइएको थियो।
एकपटक पूर्वी तटबन्ध भत्काएर पुनस् पुरानै अवस्थामा फर्काएपनि कुनै पनि बेला बिनाशलिला मच्चाउन सक्ने खतरा भने छ। कोसीले बेला बेला बिनाशलिला मच्चाउँदा २०२२ सालयता बराहक्षेत्र क्षेत्रका ३ हजार नौ सय परिवार पीडित भएको तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार आठ हजार ६ सय विघा खेतीयोग्य उर्वर भूमि कोसीले कटान गरेको छ। यो तथ्याङ्क पूर्व प्रशासक रामप्रसाद खतिवडाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले पनि तयार गरेको थियो।
मुआब्जाको आसमा उनीहरुको जीवनै वित्न लाग्यो। पीडित मुआब्जा होस् वा क्षतिपुर्तिको प्रतिक्षामै छन्। ०४६ सालको परिवर्तनपछि बनेका हरेक सरकार र निर्वाचनताका प्रमुख मुद्दा बन्दै आएको यो पीडामा मल्हम लगाउन कसैले सार्थक प्रयास गरेको छैन।