साढे चार करोड बढीको कोकिनसहित ९ जना पक्राउ:धादिङका २ जना

धादिङ,१८ साउन।
काठमाडौंका बिभिन्न स्थानबाट साढे चार करोड भन्दा बढी मुल्य पर्ने अवैध लागूऔषध कोकिन एक किलो ५१२ ग्रामसहित ९ जना पक्राउ परेका छन्। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले बिभिन्न मितिमा लागूऔषध कोकिन र नगद सात लाख ८८ हजार पाँच सय ७५ रुपैयाँसहित उनीहरुलाई  पक्राउ गरेको हो।

साउन ७ गते काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित होटलमा कोकिनको कारोबार भइरहेको अवस्थामा कारोबारमा संलग्न चारजना पक्राउ परेका थिए। कोकिन पाँचसय ग्रामसहित मन गुरूङको कोठाबाट नक्कली सुन करिब साढे दुई किलोसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो। सोही घटनाको अनुसन्धानका क्रममा ब्यूरोको टोलीले चितवन भरतपुर महानगरपालिका–७ बाट गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ घर भई हाल काठमाडौं–३ रानीबारी बस्ने ४५ वर्षीय सुरोज गुरुङलाई पक्राउ गरेको थियो।

गुरुङसँगको सोधपुछ पश्चात तारकेश्वर–८ गैरीगाउँबाट ६ सय ८३ ग्राम कोकिन र तीन हजार पाँच सय ७५ रुपैयाँ र डिजिटल तराजु बरामद गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताउनुभयो। यसैगरी साउन १० गते सोही कारोबारमा संलग्न काठमाडौं–३ रानिबारीबाट ४३ वर्षीया अन्जु थापा मगरलाई तीन सय २९ ग्राम कोकिन र सात लाख ५० हजार नगदसहित पक्राउ गरिएको थियो। उनीसँगै सोही दिन रानिबारीबाट नै ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीया रक्की आलेमगरलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुकै बयानका आधारमा रानिबारीबाट नै २३ वर्षीया रायल थापा मगर र टोखा नगरपालिका–८ जाल्पा चोकबाट भारत दक्षिण गोवा नग्गारवडा भोमा घर भएका ३९ वर्षीय सन्दिप पटेल डिजिटल तराजुसहित पक्राउ परेका थिए। सोही दिन काठमाडौं–२६ गल्कोपाखाबाट धादिङ निलकन्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाललाई पक्राउ गरिएको  ब्यूरोले जनाएको छ।

साउन १४ गते सोही कारोबारमा संलग्न काठमाडौं–२३ झोंछेबाट ४९ को सुदन शाक्यलाई ३५ हजार रुपैयाँसहित पक्राउ गरिएको र सोही कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले कोटेश्वरबाट धादिंङ निलकन्ठ–११ का २७ वर्षीय मछिन्द्र धमलालाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तरर्गत जिल्ला अदालतबाट म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्