कक्षा १२ को परीक्षा निर्धारित मितिमा भौतिक रुपमै हुने

काठमाण्डौ,१९ साउन।
कक्षा १२ को परीक्षा निर्धारित मितिमा भौतिक रुपमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको हल्ला मात्रै भएको भन्दै निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले परीक्षा भर्चुअल वा भौतिक कसरी सञ्चालन गर्ने छलफल भइरहेको जनाएको थियो । गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले आउँदो ३१ गतेदेखि गर्ने गरी यसअघि नै तालिका सार्वजनिक गरेको छ । परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र तालिका फेरबदलको कुनै सूचना नआएकाले विद्यार्थीलाई अलमलमा नपर्न उहाँको आग्रह छ ।

कक्षा १२ को परीक्षा होम सेन्टरमा लिइने, विद्यालयका भवन खाली रहेको अवस्था र दुर्गममा सङ्क्रमणको अवस्था सामान्य नै रहेकाले ठूलो समस्या नरहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो।परीक्षामा स्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने र एक बेन्च एक विद्यार्थी राखेर भौतिक उपस्थितिमै परीक्षा लिने गरी तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यसवर्ष परीक्षामा झण्डै तीन लाख ८६ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्