कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस, निर्णय भोलि हुने

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरेको छ।

कोरोना संक्रमणको जोखिम उच्चदरमा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३१ गतेदेखि संचालन हुने सो परीक्षा स्थगित गर्नका लागि सिसिएमसीले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको हो। सिफारिसलगत्तै थप रायको लागि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमा शुक्रबार पत्र पठाएको छ।

दैनिक साढे तीन हजारको संख्यामा कोरोना संक्रमित बढ्दै गएको र हाल स्वास्थ्य मन्त्रालयले परीक्षा केन्द्रमा खोप र हेल्थ डेस्कको व्यवस्था समेत गर्नसक्ने अवस्था नरहेकोले परीक्षा तालिका सार्न अनुरोध गरेको पत्र बोर्डलाई प्राप्त भएको अध्यक्ष चन्द्रमणी पौडेलले स्पष्ट पारे।

उनले साउन ३१ गतेदेखि परीक्षा संचालनको आधार तयार पार्न बोर्डले स्वास्थ्य मन्त्रालयलाई विद्यार्थी र शिक्षक तथा केन्द्रमा सहभागिता जनाउने सबैलाई खोपको व्यवस्था गर्न र परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको जनाए। ‘सोही पत्रको जवाफमा स्वास्थ्य मन्त्रालयले सिसिएमसीलाई विद्यार्थी र शिक्षकलाई खोपको व्यवस्था गर्न नसकिने र केन्द्रमा हेल्थ डेस्कको समेत व्यवस्था गर्न नसक्ने पत्र सिसिएमसीलाई पठाएको रहेछ,’ बोर्डका अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘पत्रमा कोभिड संक्रमण बढी रहेको अवस्थामा परीक्षा तालिका सार्नेबारे राय मागेको छ।’ उनले थपे ‘अब शनिवार बोर्ड बैठक बसेर केही निर्णय गर्नेछ।’

उनले पौने चार लाख विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा संचालनको लागि बोर्डले सबै तयारी गरिरहेको बताउँदै स्वास्थ्य मन्त्रालयले भने आफूसँग खोप नभएकोले व्यवस्था गर्न नसक्ने स्पष्ट जवाफ दिएको जनाए। अध्यक्ष पौडेलले परीक्षा सार्ने वा मोडालिटी परिवर्तन गरी परीक्षा संचालन गर्नेबारे बोर्डले शनिबार तय गर्ने स्पष्ट पारे।

परीक्षा नियन्त्रक कृष्ण शर्माले देशभरिका परीक्षा केन्द्रध्याक्षहरुलाई परीक्षा संचालन र व्यवस्थापनबारे अभिमुखीकरण गरिसकेको बताए। उनले यसका साथै बोर्डले प्रश्नपत्र छपाई कार्यसमेत गरेको जनाउँदै उनले भने ‘राजनितिक दलले आन्दोनल र भिडभाड गर्न हुने तर बोर्डले स्वास्थ्य सुरक्षाको सबै मापदण्ड अपनाएर पनि परीक्षा संचालन गर्न नहुने’ उनले थपे, ‘कक्षा १२ विश्वविद्यालय प्रवेशको मूल गेट हो। यो भौतिक उपस्थितिमै हुनुपर्छ। कोभिडको शैक्षिक प्रमाणपत्र लिएर नेपाली विद्यार्थी विश्वबजारमा बिक्न सक्दैनन्।’

उनले बोार्डले भौतिक दूरी कायम गरी, एउटा कक्षामा २५ जनामात्र कायम गर्न र एउटा बेन्चमा एक विद्यार्थीमात्र राखेर परीक्षा संचालन गर्न केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण गरेको बताए। ‘त्यही कक्षा १२ संचालन भएका सबै माविहरुमा होम सेन्टर नै कायम गरिएको छ,’ नियन्त्रक शर्माले भने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा संचालन हुन सक्छ। त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयहरुले परीक्षा भौतिक उपस्थितमै संचालन गरिरहेका छन्। साथै हालैमात्र मेडिकलको प्रवेश परीक्षामा ३२ हजार बढी विद्यार्थी भौतिक उपस्थितिमै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर परीक्षामा सहभागिता जनाएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्