नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने पक्का भएको छ।

नेपालले आगामी सेप्टेम्बर २ र ५ तारीखमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ। दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुने पक्का भएको छ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अखिल नेपालले फुटबल संघ (एन्फा) तथा अल इंडिया फुटबल फेडेरेसन (एआईएफएफ) को सहमतिमा हुन लागेको हो। आगामी साफ च्याम्पियनशिपलाई मध्यनजर गर्दै यी दुई राष्ट्रले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।

नेपाल र भारतले यस अघि १९ पटक प्रतिस्पर्धा गरेका छन् जसमध्ये १३ पटक भारतले जित निकाल्न सफल भएको छ। नेपालले भने भारतलाई मात्र २ पटक पराजित गरेको छ।

पछिल्लो पटक भारतले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो। त्यसबेला सन् २०१८ फिफा विश्वकप छनोट खेल अन्तर्गत यी दुवै टोलीले गोलरहित बराबरीको खेल खेलेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्