बजार अनुगमन जारी:पल्पसा क्याफेलाई १० हजार जरिवाना

धादिङ,२६ साउन।
जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा बजार अनुगमनलाई तीब्रता दिएको छ।जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको भन्ने सुचनाको आधारमा प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले  जिल्लाका मुख्य बजारहरूमा अनुगमनलाई तीब्रता दिएको हो।सोमबार नियमित बजार अनुगमनको क्रममा धुनिबेशी नगरपालिका–६,नौबिसेमा रहेको न्यू पल्पसा क्याफे साइडलाई कारबाही गरिएको छ ।

उपभोक्ताले लिखित उजुरी गरेपछि अनुगमन टोलीले स्थलगत अनुगमन गर्दा उक्त क्याफे साइडमा अखाद्य (कुहिएको) आलु प्रयोग गरेको, मूल्यसूची नराखेको, बिक्री बिल नभएको, होटलको सरसफाईमा ध्यान नदिएको र कोभिडका स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना नगरेका कारण पहिलो पटकलाई सचेतना सहित रु. १० हजार नगद जरिवाना तिराइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार उक्त क्याफेलाई ७ दिनभित्र सुधार गर्न लिखित निर्देशन समेत दिइएको छ।जिल्लामा नियमित बजार अनुगमन टोलीले गरेको यो कारबाही १०० औं कारबाही हो ।अनुगमन टोलीले जिल्लाका किराना पसल, औषधि पसल, डेरी, बेकरी उद्योग, मासु पसल र होटल गरी ७०१ वटा पसलको अनुगमन गर्दा एकसय पसललाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो।

अनुगमनका क्रममा कारबाही गरिएका सय पसलबाट राज्यलाई १० लाख ६० हजार राजस्व प्राप्त भएको छ भने १६ लाख बराबरका म्याद गुज्रिएका सामग्री जफत गरिएको छ। उपभोक्ताको निरन्तर गुनासो पश्चात प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले जिल्लाका विभिन्न स्थानहरुमा गत बैशाखदेखी नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्