नेपालमा प्रयोगमा रहेको कोभिड भ्याक्सिनको प्रभावकारिता कति ?

धादिङ,२८साउन। नेपालमा कोभिड संक्रमणदर पुनः बिस्तारै उकालो लाग्न थालेको छ । सरकारी अस्पतालका इमर्जेन्सी वार्डहरू कोभिड संक्रमितले भरिन थालिसकेका छन् भने लक्षण देखिएपछि पिसिआर परीक्षण गराउनेको भिडसमेत बढ्न थालेको छ ।

बुधबार मात्रै पनि तीन हजार चार सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश हजार नौ सय सात पिसिआर परीक्षणमा दुई हजार ६ सय १६ जनामा र पाँच हजार सात सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ६५ जनामा संक्रमण संक्रमण पुष्टि भएको हो । यस्तै बुधबार ३० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार एक सय ४५ पुगेको छ ।

नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन गरी ४५ लाखभन्दा बढीले खोपको पहिलो डोज र २० लाखभन्दा बढीले खोपको दोस्रो डोज लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप कार्यक्रम जारी रहे पनि खोपको माग भने अत्यधिक छ । योसँगै उच्च संक्रामक देखिएको डेल्टा भाइरस फैलिनुले खोपको प्रभावकारिता घटाउन सक्ने शंका गरिन थालिएको छ । 

डेल्टा भेरियन्ट फैलिन थालेपछि बेलायतले जुलाईमा डेल्टा भेरियन्टविरुद्धको खोपको प्रभावकारिताबारे अध्ययन गरेको थियो । बेलायतको राष्ट्रिय खोप व्यवस्थापन प्रणाली, निम्सले अल्फा भेरियन्टसँगको तुलनाको आधारमा गरेको अध्ययनमा डेल्टा भेरियन्टमा खोपको प्रभावकारिता निकै खस्किएको देखाएको थियो ।

ट्रायल परीक्षणमा १२ हजार छ सय ७५ जना सहभागी थिए जसमा ११ हजार ६ सय २१ जना अल्फा भेरियन्ट संक्रमित र एक हजार ५४ जना डेल्टा भेरियन्ट संक्रमित सहभागी थिए । अनुसन्धानमा फाइजर र एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएपछि अल्फाको तुलनामा डेल्टा भेरियन्टमा ३३ प्रतिशत कम प्रभावकारी रहेको पाइएको थियो ।

फाइजर खोपको दुईवटै खोप लगाइसकेपछि अल्फा भेरियन्ट संक्रमितमा ९३.४ प्रतिशत प्रभावकारी देखिँदा डेल्टा भाइरसमा ८७.९ प्रतिशत मात्र प्रभावकारी रहेको पाइयो । यस्तै एस्ट्राजेनेका खोपपछि अल्फा भेरियन्ट संक्रमितमा ६६.१ प्रतिशत र डेल्टाविरुद्ध ५९.८ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । खोपको प्रभावकारिता भूगोल र फरक समुदायमा भिन्न देखिएको पाइएको छ । 

नेपालमा प्रयोग भइरहेको अर्को खोप भेरोसेलको प्रभावकारिताबारे पछिल्लो समय भएका अध्ययनको प्रभावकारिताबारे भने स्पष्ट अनुसन्धान रिपोर्ट बाहिर आएको पाइँदैन । खोप उत्पादक कम्पनीले सुरुवातीमा सबै उमेर समूह र स्वास्थ्य अवस्था भएका व्यक्तिहरूमा खोपको प्रभावकारिता ७९ प्रतिशत रहेको बताएको थियो । तर, बिस्तारै सबैजसो भ्याक्सिनको प्रभावकारिता घट्दै गएको छ । 

‘विकल्प भ्याक्सिन मात्रै हो, प्रभावकारितामा अल्मलिनु हुँदैन’

भ्याक्सिनको प्रभावकारिता तल–माथि भए पनि हालसम्मको तथ्यांक हेर्दा खोप लगाएका व्यक्ति संक्रमणका कारण गम्भीर भएको तथ्यांक निकै न्यून देखिएको बताउँछन्, डा. शेरबहादुर पुन । उनी भन्छन्, ‘अहिले खोपको प्रभावकारितालाई लिएर अल्मलिनु हुँदैन । कोभिडको अहिलेसम्मको अनुभवमा खोप लगाएका व्यक्ति गम्भीर समस्या लिएर अस्पताल भर्ना हुने दर निकै न्यून छ । खोप लगाएका व्यक्तिहरू अहिले पनि संक्रमण भएर अस्पताल आइरहेका छन्, विभिन्न अध्ययनहरूले खोपको प्रभावकारिता खस्किँदै गएको देखाए पनि हाम्रा लागि संक्रमण नियन्त्रणका लागि खोप मुख्य विकल्प हो ।’ 

भाइरसको स्वरूप परिवर्तनसँगै खोपको प्रभावकारिता घट्दो

भाइरसको स्वरूप परिवर्तन भएसँगै खोपको प्रभावकारितासमेत खस्किँदै गएको छ । खोप उत्पादनको सुरुवातमा ९६ प्रतिशत रहेको फाइजर खोपको प्रभावकारिता ८४ प्रतिशतमा झरेको अध्ययनहरूले पुष्टि गरेका छन् । 

अझै इजरायलको स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनबाट फाइजरको खोपको प्रभावकारिता ६४ प्रतिशत मात्र देखिएको उल्लेख छ । योसँगै मोर्डना, स्ट्राजेनेकाजस्ता खोपको प्रभावकारिता पनि बिस्तारै घट्दै गइरहेको अध्ययनले देखाएका छन् ।

जब कि मोर्डनाको खोप भने ६ महिनापछि सम्म पनि ९० प्रतिशत प्रभावकारी रहने सो कम्पनीले दुई महिनाअघि दाबी गरेको थियो । खोपको प्रभावकारिता बिस्तारै खस्किदै गएकोले भ्याक्सिनको तेस्रो डोजको आवश्यकतामाथि समेत बहस हुन थालेको छ । यसबारे कोभिडविरुद्धको भ्याक्सिन उत्पादन गर्ने केही कम्पनीहरूले अनुसन्धानसमेत थालेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्