सिकाइ निरन्तरताका लागि केन्द्रको अपिलःविद्यार्थीको अवस्था पहिचान गरी सिकाइ सुनिश्चित गर्न आग्रह

धादिङ,३२ साउन। 
कोभिड–१९ को बढ्दो संक्रमणका कारण भौतिक उपस्थितिमा रोकिएको विद्यालय तहको सिकाइलाई वैकल्पिक उपायद्वारा निरन्तरता दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आग्रह गरेको छ ।आइतबार एक अपिल जारी गर्दै केन्द्रले विद्यालय तहका विद्यार्थीहरुको अवस्था पहिचान गरी सोही आधारमा सिकाइलाई निरन्तरता दिन आग्रह गरेको हो ।

गत वर्ष शैक्षिक सत्र २०७७ पनि कोभिड महामारीका कारण दुई महिना पछाडी धकेलिएको भन्दै केन्द्रले हालसम्म कोभिड नियन्त्रणमा आइनसकेको र तेस्रो लहर आउन सक्ने सम्भावनाका कारण शिक्षक विद्यार्थीको भौतिक उपस्थितिमा तत्काल विद्यालय खुल्ने सम्भावना नरहेको बताएको छ । त्यसैले यस्तो अवस्थामा विद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिनका लागि विद्यार्थीहरुको अवस्था पहिचान गर्न आग्रह गरिएको हो ।  

विद्यार्थी वर्गीकरण गर्दा रेडियोको पहुँच भएका, टेलिभिजनको पहुँच भएका, कम्प्युटरको पहुँच भएका, इन्टरनेटको पहुँच भएका तथा सबै किसिमका प्रविधिको पहुँच नभएका गरी ५ समूहमा वर्गीकरण गरी सोही आधारमा सिकाइलाई निरन्तरता दिन आग्रह गरिएको छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मिति २०७७/०५/१९ का दिन जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा उल्लेख गरिएबमोजिम सबै विद्यार्थीले पढ्न पाउने हकको सुनिश्चितता गर्नका लागि सम्पूर्ण अभिभावक, शिक्षक, विद्यालय एवम् स्थानीय तहलाई केन्द्रले आग्रह गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्