खुल्न थाल्यो मेलम्ची खोलामा आएको विध्वंशकारी विनाशको वास्तविक कारण

गत असार १ गते र १६ गते मेलम्ची खोलामा आएको बाढीको कारण बहु शृङ्खलागत प्रकोप भएको विज्ञहरूले निष्कर्ष निकालेका छन् । हिमालभन्दा ठीक मुनिदेखि सुरु हुने पेम्दाङ खोलादेखि दायाँ बायाँ दर्जनौँ स्थानमा पहिरो जानु, मेलम्ची र पेम्दाङ खोला मिसिएको भेमाथाङमा ग्रेगान कटान गर्नु र भेमाथाङ् देखि तल्लो भागमा धेरै पहिरोको विकास भएका कारण मेलम्ची खोलाको तल्लो तटीय क्षेत्रमा विनाश भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले पत्रकार सम्मेलन गर्दै भूगर्भविद्ले स्थलगत तथा हेलिकोप्टरबाट गरेको अध्ययन र ड्रोनको सहायताबाट गरेको अध्ययनको निष्कर्ष प्रस्तुत गरेको छ । खानी तथा भूगर्भ विभाग र राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरणले हेलम्बु र मेलम्चीमा सर्वे गरेको थियो । गोकुल भण्डारीको नेतृत्वको ड्रोन सर्भे टोलीले ग्रेगान थुप्रिएको भेमाथाङ भन्दा माथि पेम्दाङ खोलाको माथिल्लो तटीय क्षेत्र र तल्लो तटीय क्षेत्रमा ड्रोनबाट अध्ययन गरेको थियो । भेमाथाङमा हिमनदीले बगाएर ल्याएको १५ मिटर लम्बाई र ७ मिटर चौडाइमा १ करोड ५ लाख घन मिटर ग्रेगान थुप्रिएको छ । जहाँ मेलम्ची नदी र पेम्दाङ नदीको भेट हुन्छ ।

भेमाथाङमा पुगेर गरिएको अध्ययनमा मेलम्ची नदीतर्फबाट सङ्लो पानी आएको र पेम्दाङ खोलाबाट धमिलो पानी आएको पाइएपछि टोलीले पेम्दाङ खोलामाथि ड्रोन उठाएको थियो । पेम्दाङ खोलाको माथिल्लो तटदेखि भेमाथाङसम्म दुबैतर्फ दर्जनौँ स्थानमा पहिरो गएको भेटिएको छ । पेम्दाङ खोलादेखि सुरु भएको बहुप्रकोपका कारण तल्लो तटीय क्षेत्र मेलम्चीसम्म ठूलो क्षति भएको विज्ञको निष्कर्ष छ । भेमाथाङ चौरमा सयौँ वर्षदेखि हिमनदीले बगाएर ल्याएको ग्रेगान जम्मा भएर बसेको र खोला सो ग्रेगान कटान गर्दै खोला बगेकोले तल्लो भागमा ठूलो परिणाममा ग्रेगान थुप्रिएको उनीहरुको निष्कर्ष छ ।

अध्ययनका क्रममा मेलम्ची खोलाका साथै याङ्ग्री र लार्के खोलामा पनि एकै दिन बाढी आएकोले मेलम्चीमा कुनै हिमताल नफुटेको अध्ययनकर्ताहरूको तर्क छ । भेमाथाङ चौर माथिको भूभागमा केही बेर परेको भारी वर्षा नै भीषण बाढीको कारण रहेको उनीहरूको तर्क छ ।भूगर्भविद् डा। रञ्जनकुमार दाहालले भेमाथाङमा केही समय ड्यामको रूपमा पानी जम्मा भएको त्यो फुटेर तल्लो भागमा भीषण बाढी आएको देखिएको बताए । उनले फेरी पानी ठूलो प¥यो भने भेमाथाङमा थुप्रिएर बसेको ग्रेगान बगेर आउने प्रस्ट भएको उनले बताए । नदीको खोच सानो भएको ठाउँमा पहिरोबाट खसेका ढुङ्गाले पनि खोला थुन्ने र बाढीको रूपमा जोखिम निम्तिने उल्लेख गरे ।

उनले हिमाली भेगमा तापक्रम बढ्दै जानु पनि चुनौतीको विषय भएको बताए । माइनस १० डिग्री तापक्रम भएको स्थानमा गत जुन महिनामा १४ डिग्रीसम्म तापक्रम बढेको उल्लेख गरे ।

उनले भने–‘हिउँ पर्ने स्थानमा पानी परेको छ, यो चुनौतीको विषय बनेको छ । अब पानी पर्ने प्रक्रियालाई पनि कुन रूपमा बुझ्ने भन्ने कुरा आएको छ ।

उनले माथिबाट बग्ने थेग्रानलाई कसरी रोक्ने त्यसको विकल्प हुन सक्ने बताए ।

सो बाढीले हेलम्बुमा मात्रै ६ वटा मोटरेवल पुल, ६ वटा झोलुङ्गे पुल, सयौँ घर, मेलम्ची खानेपानी आयोजना, ७ वटा रेन्बो ट्राउट फार्म, हजारौँ हेक्टर खेतीयोग्य भूमिमा क्षति पु¥याएको थियो ।

बाढीसँगै बगेर आएको ग्रेगानले मेलम्चीमा खोलाको उचाइ १० मिटर बढेको छ भने मेलम्ची खानेपानीको बाँध स्थलमा १५ मिटर बढेको छ ।

माथिल्लो क्षेत्रमा पानी पर्दा तल्लो क्षेत्रमा ग्रेगान सहितको बाढी आउने धेरै खतरा रहेकोले अहिले घर छोडेर सुरक्षित स्थानमा गएकाहरू फर्केर घरमा जाने अवस्था नभएको विज्ञहरूले बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मेलम्ची खोलामा जस्तै याङ्ग्री र लार्के खोलाको माथिल्लो भागको अध्ययन गरिने बताए । उनले मेलम्ची खोलाको माथिल्लो भागदेखिको पहिरोको जोखिम कसरी कम गर्न सकिन्छ, खोलामा ठूलो बाँध बनाएर हुन्छ कि वा कम हुने प्रविधि प्रयोग गर्न सकिन्छ कि त्यसबारे अध्ययन गर्ने उल्लेख गरेका छन् ।

रातोपाटी बाट साभार

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्