धार्मिक तथा ऐतिहासिक महत्व बोकेको चुलीको बाघबच्छला मन्दिर जोखिममा

धादिङको गल्छि गाउँपालिका वडा नम्बर ८ मा रहेको धार्मिक तथा ऐतिहासिक मन्दिर बाघबछला महादेवको मन्दिर जोखिममा परेको छ ।मन्दिरको छेउबाट पहिरो गएको कारण उक्त मन्दिर जोखिममा परेको हो।सम्बन्धीत पक्षको ध्यान जान नसक्दा धार्मिक महत्व बोकेको बाघबच्छला मन्दिर संरक्षणको पर्खाइमा रहेको छ ।

वि.स २०४४ साल भाद्र ६ गते तत्कालिन जिल्ला सभापति तथा हाल नेपाल  कम्युनिष्ट पार्टी(समाजवादी)का नेता,पुर्व मन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्दिरको उद्घाटन गर्नुभएको थियो। मन्दिर उद्घाटन पछि एक दुई पटक मात्र त्यस क्षेत्रमा पुग्नुभएका पाण्डेले सो समयमा त्यस क्षेत्रको लागि विकास गर्छु भनेको भाषणलाई नागरिकहरुले अहिले सम्म पनि सम्झिरहेका छन्।

दुई बर्षअघि उक्त मन्दिरमा गरीएको कार्यक्रममा बाटो खन्नको लागि दिन्छु भनेको ५० लाख दिएपनि मन्दिरको विकासको लागि भने एक रुपैया पनि बिनियोजन गर्नुभएको छैन।आफैले उद्घाटन गरेको मन्दिर जोखिममा हुँदा पनि चासो नदीएको भन्दै नागरिकहरुले नेता पाण्डेमाथि गुनासो पोख्न थालेका छन्।स्थानीयको जनश्रमदानबाट निर्मित उक्त मन्दिर पछि तिहारमा देउसी भैलो खेलेर संकलित रकमबाट मन्दिरको भवन निमार्ण गरीएको स्थानियले बताएका छन्।

गल्छी गाउँपालिले उक्त मन्दिर रहेको क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा समावेश गरेपनि अहिले सम्म भौतिक संरचना निर्माणमा भने पालिकाले खासै चासो दिएको छैन।गाउँपालिकाको डकुमेन्ट्रीमा बाघबछला मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा समावेश गरीएको छ ।तर अहिले सम्म त्यस क्षेत्रको विकासको शिर्षकमा भने रकम बिनियोजन गरीएको छैन।

साबिकको गोगनपानी गाउँ विकास समिति वडा नम्बर २ मा रहेको बाघ बच्छला मन्दिर ऐतिहासिक महत्व बोकेको धार्मिक स्थल हो । बाघ बच्छला महादेवको मन्दिरमा पुजा आराधान गर्दा मनोकाङ्क्षा पुरा हुने विश्वास रहेको छ। उक्त मन्दिरमा गई गाईको दाम्लो साट्ने चलन पनि रहिआएको छ ।त्यसो गर्दा गाइलाई कुनै रोग नलाग्ने र राम्रो हुने विश्वास रहिआएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्