आज फूलपाती:दिउँसो साढे चार बजे भित्र्याइँदै

आज दशैँको फूलपाती,आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । 

नौ वटा  देवीको प्रतीकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो।  फूलपाती भित्र्याएपछि नौवटा  देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि गौतमले जानकारी दिनुभयो। हनुमानढोका दरबारको दशैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डौबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । यस वर्षको फूलपाती आज दिउँसो साढे चार बजे भित्र्याइँदै छ ।
आजैका दिनदेखि दशैं बिदा पनि सुरु भएको छ । दशैँको पाँच दिन बिदा हुने गरेकाले सरकारी कार्यालय पनि बन्द हुन्छ ।–उज्यालो
फाइल तस्बिर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्