आइतबारयता बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो,४० जना घाइते

काठमाडौँ,०४ कात्तिक । 
मनसुनपछिको वर्षाले बाढी, पहिरो र डुबानमा परी आज बिहीवार दिउँसोसम्म एक सय एक जनाको ज्यान गएको छ । विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको गृहमन्त्रालयस्थित विपत् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो ।गृह मन्त्रालयका अनुसार बाढी, पहिरोमा परि प्रदेश नम्बर १ मा ६० जना, सुदूरपश्चिम प्रदेशमा ३१ जना, कर्णाली प्रदेशमा सात जना र वाग्मती प्रदेशमा एक गरी अहिलेसम्म एक सय एक जनाको ज्यान गएकोछ । 

साथै प्रदेश १ मा १९ जना, कर्णालीमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी ४० जना घाइते भएका प्रहरीको विवरण छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।बाढी–पहिरोमा परि प्रदेश १ मा १३ जना, प्रदेश २ मा एक जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी ४१ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, आठ वटा गोठ, ६ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको तथ्याङ्क छ । बाढी, पहिरोबाट एक सय ३९ पशु चौपाया मरेका छन् ।

यो जनधनको क्षति मनसुनको सम्पूर्ण अवधिमा भएको भन्दा बढी रहेको पाण्डेले बताउनुभयो ।यसअघि मनसुनको अवधिमा बाढीपहिरोले १२६ जनाको ज्यान लिएको थियो । बाढीपहिरोका कारण देशका विभिन्न ११ जिल्लाका प्रमुख तथा सहायक राजमार्ग अवरुद्ध भएका छन् । केहीमा एकतर्फी सञ्चालनको प्रयास भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्