महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ:प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काँगे्रस कमजोर भएर देशमा कम्युनिष्टहरु बढेको बताउनुभएको छ। पार्टीको नियम र विधान अनुसार चल्न नसकेको कारण र समयको माग बमोजिम पार्टीको नेतृत्व गर्नेहरुले पार्टीलाई परिचालन गर्न नसकेको कारणले अहिले कांग्रेस कमजोर अवस्थामा रहेको सिंहले बताउनुभयो। 

आमाको किरियापुत्री बसेका नेपाली काँग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई भेट्न बिहिबार धादिङ आउनुभएको समयमा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले  नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताउनुभएको हो। उहाँले पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै विधिसम्मत र संस्थागत रूपमा पार्टीलाई अगाडि बढाउनका लागि सक्षम नेतृत्वको आवश्यकता रहेको उहाँको भनाइ छ।

नेता सिंहले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने र क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्ने र पार्टीको अधिवेशन अगाडि बढाउन नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो।पार्टीलाई ठिक ठाउँमा ल्याउन सबैले विधि र पद्धतिको सही ढङ्गले पालना गर्नुपर्ने उहाँको भनाई थियो।अब जनताले चाहेको आर्थिक सम्पन्नताको अभियानमा पनि कांग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागि ठिक नेताको आवश्यक रहेको सिंहले बताउनुभयो।

राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आशा गरेर यस क्षेत्रमा लाग्न नहुने भन्दै नेता सिंहले अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगेपछि काम गर्न नसक्ने परिपाटीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो। सिंहले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै आसन्न पार्टी महाधिवेशनमा आफू सभापतिमा प्रतिस्पर्धा गर्ने समेत बताउनुभएको छ।

उहाँले भन्नुभयो,‘महाधिवेशन पनि गर्न नसक्ने पार्टीले कसरी देश चलाउँछ भनेर जनताले प्रश्न गर्न थालिसके,’अब तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ । कुनै बहानाबाजी गर्न पाइदैन ।’प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विभिन्न जिल्लाका सभापतिहरुको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्