स्क्रब टाइफस र डेङ्गीका बिरामी बढ्दै,कसरी बच्ने?

काठमाण्डौ, पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा स्क्रब टाइफस र डेङ्गीका बिरामी बढ्दै गएका डाक्टरले बताएका छन् ।दुवै रोगको लक्षण कोरोनाको लक्षणसँग  मिल्दोजुल्दो  हुने  सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनले बताउनुभयो । उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचारका लागि जानेहरुमध्ये तीन देखि चार प्रतिशत डेङ्गी र स्क्रब टाइफसका बिरामी हुने गरेका सम्बन्धित अस्पतालहरुले जनाएका उहाँले बताउनुभयो ।

उहाँका अनुसार तुलनात्मक रुपमा यो सङ्ख्या दशैँ अगाडि भन्दा  केही बढी हो । स्क्रब टाइफस र डेङ्गीबाट विशेष गरी बालबालिका धेरै प्रभावित भएका छन् । बालबालिकाहरु घर बाहिर झार भएका ठाउँमा खेल्दा किराले टोके पनि वास्ता नगर्ने र थाहा पाइहाले पनि धपाउन नसक्ने भएकाले बालबालिका धेरै सङ्क्रमित भएका हुन सक्ने डाक्टरहरुले बताएका छन् ।

डेङ्गीको तुलनामा स्क्रब टाइफस भएका बालबालिका धेरै भेटिएको छ ।  मुसामा पाइने माइट नामक परजीवीको टोकाइबाट मानिसमा स्क्रब टाइफस रोग सर्छ । स्क्रब टाइफस सङ्क्रमणका बिरामीलाई टाउको तथा मांसपेशी दुख्ने, ज्वरो आउने, पखाला लाग्ने, परजीवीले टोकेको ठाउँमा घाउ देखिने लगायतका लक्षण देखा पर्छ ।

डेङ्गी दिउँसो सक्रिय हुने एडिस जातको लामखुट्टेले टोकेमा हुने गर्छ । डेङ्गीको लक्षण पनि उच्च ज्वरो, शरीर दुख्ने नै हुन्छ । स्क्रब टाइफस मनसुनको समयमा देखिने भए पनि त्यसकै निरन्तरता भएको हुन सक्ने र डेङ्गी देखिने समय सुरु भएकाले बढ्न थालेका हुन सक्ने डा पुनले बताउनुभयो ।

खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म लामो जुत्ता लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, चउर, बारी, झाडी, घाँस तथा घुरान बढ्न नदिने र मुसा नियन्त्रणका उपायहरु अपनाउन सके डेङ्गी तथा स्क्रब टाइफसबाट बच्न सकिने उहाँले बताउनुभयो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्