मंसिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने,घरासयी ग्राहकले २० युनिटको ३० रुपैयाँ मात्रै तिर्नुपर्ने 

सरकारले मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू गर्ने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै आज नयाँ दर सार्वजनिक गरेको छ। मङ्सिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिर्नुपर्नेछ। 

त्यसका लागि प्राधिकरणले वर्षमा ७५ करोड बराबर लगानी गनुपर्नेछ।आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ ।

त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ । अहिलेसम्म सिङ्गल फेजमा ५, १५, ३० र ६० एम्पियर गरी नौ वटा स्ल्याब राखेर महसुल लिँदै आएको छ ।अब भने यस्तो स्ल्याबलाई ६ वटामा झारिएको छ । अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १ सय, १ सय १ देखि २ सय ५० र २ सय ५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ । 

अब महिनामा १ सय १ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको छ । यी भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म कम महसुल कायम भएको छ । 

व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १० दशमलव ५० र हिउँदमा ११ दशमलव ५० रुपैयाँ फरक–फरक महसुल तिर्नुपर्ने छ । यसअघि चार सय युनिटसम्म खपत गरेमा ११ दशमलव५० रुपैयाँ र चार सय युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महसुल थियो ।

सबैभन्दा बढी लाभ यसपटक सिँचाइका ग्राहकले पाएका छन् । उनीहरूको महसुल ८० प्रतिशतसम्म घटाइएको छ ।२३०÷४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका ग्राहकले अब प्रतियुनिट २ दशमलव२५ रुपैयाँ महसुल तिनुपर्ने छ । यसअघि यो तहमा प्रति युनिट ४ दशमलव३० रुपैयाँ महसुल थियो । 

सिँचाइका ३३ केभीका ग्राहकले प्रतियुनिट २ दशमलव५० रुपैयाँ महसुल तिर्नुपर्ने छ । यसअघि यो स्ल्याबमा प्रतियुनिट महसुल ४ दशमलव८० रुपैयाँ थियो ।११ केभीका सिँचाइ ग्राहकले प्रतियुनिट २ दशमलव६० रुपैयाँ महसुल तिरे पुग्नेछ । यसअघि यो स्ल्याबमा प्रतियुनिट ४ दशमलव९० रुपैयाँ थियो । सिँचाइमा दिइएको सुविधाका लागि प्राधिकरणले वर्षमा ५६ करोड योगदान गर्नुपर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्