कुकुरले टोकेर विरामी भएको भैंसीको मासु खाएपछि गाउँ नै आतंकित 

रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आतंकित भएको छ । नगरको वडा नं। ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टोकेर बिरामी परेको भैंसी काटेर मासु खाँदा गाउँ नै आतंकित भएको हो ।गत असोज १९ गते घटस्थापनाका दिन सैनामैना–८ पीपलडाँडा ठूली ओकाली निवासी एक स्थानीयको घरबाट स्मृतिटोलका केही व्यक्ति मिलेर भैंसी ल्याई काटेर गाउँमा मासु बिक्री गरेका थिए । असोज १९ गतेको घटना भए पनि अहिले मात्र सार्वजनिक भएको हो ।

सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृतिटोल निवासी दुई व्यक्तिले पीपलडाँडाबाट भैंसी ल्याई काटेर प्रतिकेजी २ सय ५० रुपियाँका दरले बिक्री गरेका थिए । उक्त भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी कुल १ सय ४० जनाले पकाएर खाएका थिए ।वडाध्यक्ष बेल्वासेले भने– ‘भैंसी कुकुरले टोकेर केही दिनदेखि बिरामी परेको रहेछ, उहाँहरुले हामीले छालामात्र प्रयोग गर्छौं भनी उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।’ उक्त मासु खानेमा बच्चादेखि वृद्धसम्म रहेका उहाँले बताउनुभयो ।

अस्वस्थ मासु बिक्री–वितरण गरेको भन्दै दोषीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीमा अनुरोध गरिएको अध्यक्ष बेलबासेले बताए ।कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेको घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृतिटोलमा पुगेर एकैपटक ७० जनालाई रेबिजविरुद्धको खोप लगाएको छ । नगर प्रमुख चित्रबहादुर कार्कीले अझै पनि गरिब तथा विपन्न वर्गका परिवारमा स्वास्थ्यवद्र्धक खाद्यान्नसम्बन्धी चेतनाको अभाव रहेकाले उक्त समस्या उत्पन्न भएको बताए । नेपाल समाचारपत्रबाट । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्