नेपाल संवतको नयाँवर्ष ११४२ सुरु,नेवार समुदायले आज म्हःपूजा मनाउँदै

नेपाल संवतको नयाँ वर्ष ११४२ आजबाट सुरु भएको छ ।हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।यस संवतलाई अहिले नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराउनुभएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । 

२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा विशेषरुपमा मनाउने गरिन्छ।

गरिब नागरिकको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षको दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा समेत काठमाण्डौमा अझै छ ।यसैबीच, नेवार समुदायले आज म्हःपूजा मनाउँदै छन् । आज साँझ धादिङ सहित देशभर बसोबास गर्ने  नेवार समुदायले म्हः पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो ।  

प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाको दिन म्हः पूजा गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार  शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वास अनुरुप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ ।  सोहि मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाइन्छ । 

म्हः पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ । घरको मुलीले परिवारको अन्य सदस्यलाई टीका, सगुन लगाई दिएर पूजा गरिन्छ । पूजा  सकिएपछि भोज खाने प्रचलन रहेको उहाँले बताउनुभयो । 

म्हः पूजाले आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । आजको दिन नेवार समुदायले चुल्हो, गाग्रीलगायत दैनिक प्रयोग हुने सामग्रीलाई पनि पूजा गर्ने प्रचलन छ।म्हः पूजा गर्न विभिन्न रंगको प्रयोग गरी बनाइएको मण्डप, फलफूल, फूल, धूपबत्ती, जनैकोखा, अण्डा, माछा, मासु, अदुवा, लसून, दही, माछा (नभएमा मासु मात्र पनि राख्ने चलन छ)  लगायतको सामग्रीको आवश्यक पर्दछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्