नेपाल सम्वत ११ सय४२ को अवसररमा धादिङबेशीमा भिन्तुना प्रभातफेरी निकालिएको छ।आज भिंगु नेवा समाजको आयोजना तथा नेवा देय दबुको आतिथ्यतामा ‘नेपाल संवत राष्ट्रिया गौरव,संस्कृति सम्पदा पुर्खाया पौरख’ भन्ने मूल नारा सहित न्हुँ दया भिन्तुना प्रभातफेरी निकालिएको हो।विहान धादिङबेसी पुछारबजारबाट सुरुभएको झाँकि सहितको सांस्कृतिक कार्यक्रम शितल बजार हुँदै धादिङ उद्योग वाणिज्य सङ्घ भवन परिसरमा रहेको भगवती मन्दिरमा समापन गरिएको थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने नेवारी संस्कृति झल्कने धिमे बाजा तथा टाकटुके नाचसहित सहभागी भएका थिए।यस्तै आजै धुनिवेशी, सल्यानटार, बुढाथुम, गल्छीमा पनि ¥याली निकालर नेपाल सम्वत् मनाईएको छ।नेवार समुदायमा प्रचलित म्हः पुजाको दिनदेखि नेपाल सम्वतको नयाँ बर्ष प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष धादिङमा यस्ता कार्यक्रमहरु गरिदैँ आएको छ।
यस संवतलाई अहिले नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराउनुभएको थियो । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो ।
गरिब नागरिकको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षको दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो।
यसैबीच, नेवार समुदायले आज म्हःपूजा मनाउँदै छन् । आज साँझ धादिङ सहित देशभर बसोबास गर्ने नेवार समुदायले म्हः पूजा गर्छन्। साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो ।
प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाको दिन म्हः पूजा गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वास अनुरुप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ। सोहि मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाइन्छ ।
म्हः पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ । घरको मुलीले परिवारको अन्य सदस्यलाई टीका, सगुन लगाई दिएर पूजा गरिन्छ । पूजा सकिएपछि भोज खाने प्रचलन रहेको उहाँले बताउनुभयो । म्हः पूजाले आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । आजको दिन नेवार समुदायले चुल्हो, गाग्रीलगायत दैनिक प्रयोग हुने सामग्रीलाई पनि पूजा गर्ने प्रचलन छ ।
म्हः पूजा गर्न विभिन्न रंगको प्रयोग गरी बनाइएको मण्डप, फलफूल, फूल, धूपबत्ती, जनैकोखा, अण्डा, माछा, मासु, अदुवा, लसून, दही, माछा (नभएमा मासु मात्र पनि राख्ने चलन छ) लगायतको सामग्रीको आवश्यक पर्दछ ।
तस्विर:नारायण कुमार श्रेष्ठ