कोरोनाबाट प्रभावित अति विपन्न परिवारलाई १० हजारका दरले राहत दिन सुरु

सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार तीन सय तीन अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । दश हजार रुपैयाँका दरले उनीहरूलाई राहत वितरण गरिएको हो । यहाँका पालिकाहरूले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिएको बताएका छन् । विशेषगरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण प्रभावित भएका अति विपन्न, असहाय र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने विपन्न तथा हातमुख जोर्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको हो । 

सरकारले प्रतिस्थापन बजेटमा घोषणा गरेअनुसार भर्खरैमात्र त्यो शीर्षकको राहत रकम वितरण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भइ राजपत्रमा प्रकाशित गरिसकेको छ । त्यहीअनुसार देशभरका झन्डै पाँच लाख अति विपन्न परिवारसँगै काभ्रेपलाञ्चोकका पाँच हजार तीन सय तीन परिवारलाई राहत वितरण गर्न लागिएको बताइएको छ । 

जिल्लाका ६ नगरपालिका र सात गाउँपालिकाको पाँच हजार तीन सय तीन परिवारलाई राहत रकम दिइने गएको मङ्गलवार प्रकाशित राजपत्रमा उल्लेख छ । जसअनुसार बनेपा नगरपालिकाका पाँच सय नौ, धुलिखेलका तीन सय ३५, पनौतीका चार सय १७, पाँचखालका चार सय ७१, नमोबुद्धका चार सय ८४ र मण्डनदेउपुरका पाँच सय ८७ तथा चौंरीदेउराली गाउँपालिकाका चार सय ८२, भुम्लुका चार सय सात, तेमालका चार सय २२, बेथानचोकका दुई सय ४०, रोशीका चार सय ५०, महाभारतका दुई सय ८८ र खानीखोलाका दुई सय ११ परिवारलाई राहत वितरण गरिएको छ । सरकारले यसलाई गरिब लक्षित सबैभन्दा महत्त्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ । 

कार्यविधिअनुसार कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण पेसा–व्यवसाय वा श्रम गर्ने अवसर गुमाएका तथा आर्थिक रूपमा अति विपन्न नागरिकले विगतमा गर्दै आएको रोजगारी पूर्ण रूपमा गुमाएका र रोजगारीको अर्को अवसर नपाएका बेरोजगार असङ्गठित क्षेत्रका मजदुर वा कामदारलाई यो रकम दिइने भएको हो । साथै खुला सडक, फुटपाथ, नाङ्लो पसल सञ्चालन गर्दै आएका, अति विपन्न व्यवसायी र दैनिक ज्याला–मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटक भरियालेसमेत राहत रकम पाउने कार्यविधिमा उल्लेख छ । 

कार्यविधिमा कोभिड–१९ का कारण एकाघरको परिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भइ आर्थिक सङ्कट झेल्नुपरेको परिवार वा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारलेसमेत यो रकम पाउने उल्लेख छ । तर, नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता (ज्येष्ठ नागरिक, एकल महिला, दलित वा अपाङ्ग वा नेपाल सरकार र विदेशी सरकारको निवृत्तिभरण) पाउने परिवारले यो रकम दाबी गर्न पाउने छैन ।

यो राहत रकम प्राप्त गर्नका लागि सार्वजनिक सूचना जारी गरिएको १५ दिनभित्र स्थानीय वडा कार्यलयमा आवश्यक कागजातसहित निवेदन गर्नुपर्ने प्रावधान छ । सहायता रकम वडाबाटै उपलब्ध हुने पनि जनाइएको छ । नगदबापत नेपाल सरकारको न्यूनतम दैनिक ज्यालादारीका आधारमा हुन आउने न्यूनतम कार्य दिन बराबर कुनै सार्वजनिक विकास निर्माणको आयोजना स्वयंसेवकका रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ ।–रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्