चिसोमा संक्रमणबाट बच्न न्यानो कपडा र खानपानमा ध्यान दिउँ

चिसोयाम शुरु भएसँगै विभिन्न्न रोगले सताउने गर्दछन् । चिसोयाममा धेरै व्यक्तिले खानपानमा ध्यान नदिएका कारण विभिन्न रोग लिएर अस्पताल जाने गर्दछन् ।निमोनिया, ज्वरो, रुघाखोकी टन्सिल, दम, मुटुको समस्या, जोर्निको दुखाई, पिनास जस्ता रोगहरु चिसोयाममा समस्याको रुपमा देखिने जनरल फिजिसियन डा. लोचन कार्कीले बताउनुभएको छ ।खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, दीर्घरोगी र रोगप्रतिरोध क्षमता कम भएका व्यक्ति चिसोबाट बच्नुपर्ने उहाँ बताउनुहुन्छ। कार्कीका अनुसार चिसोयाममा सताउने रोगहरु निम्न छन् ।

ज्वरो, रुघाखोकी
जाडोयाममा रुघाखोकीले ज्यादै सताउने गर्दछ । जाडोयाम शुरु भएसँगै मौसममा आउने परिवर्तनका कारण ज्वरो र रुघाखोकीको समस्या देखिने कार्की बताउनुहुन्छ । राइनो भाइरस कुनै सङ्क्रमित व्यक्तिले खोक्दा ,बोल्दा, हाछ्यु गर्दा हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।जाडोमा यी भाइरस बढी सक्रिय रहने उहाँ बताउनुहुन्छ । यसले विशेषगरी बालक तथा वृद्धवृद्धालाई आक्रमण गर्दछ । रुघाखोकीलाई सामान्य रुपमा सोचेर वेवास्ता गरे निमोनिया पनि हुन सक्ने कार्की बताउनुहुन्छ ।

निमोनिया
निमोनियका बिरामी पनि जाडोयाम लागेसँगै धेरै देखिन्छन् । यो समयमा बालबालिका र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । धेरै ज्वरो आउने, थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनुनै निमोनियाका लक्षण हुन । फोक्सोसा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या आउने उहाँको भनाइ छ ।

पिनास
जाडोयाममा पिनासका बिरामी पनि बढी भेटिन्छन् । नाकको छेउमा हावाले भरिएको ठाउँ हुन्छ । चिसोका कारण नाकभित्रको पानी बाहिर निस्कन नसकी उक्त ठाउँमा बस्छ । यसरी पानी भरिएपछि नै पिनास हुने डा.कार्की बताउनुहुन्छ ।

छालाको एलर्जी
छालाको एलर्जीले पनि जाडोयाममा धेरैलाई दुःख दिने गर्दछ । जाडोयाममा पानीको मात्रा कमी भएका कारण छाला सुख्खा हुने गर्दछ । जसका कारण छाला चिलाउने, ओठ फुट्ने, कुर्कच्चा फुट्ने, छाला चिलाउने जस्ता छालामा समस्या आउने डा. कार्की बताउनुहुन्छ ।

दम, मुटुरोग
दम, मुटुरोगका बिरामीलाई पनि जाडोयाम सुरु भएसँगै ज्यादै चिन्ता हुन्छ। विशेषगरी बृद्धबद्धालाई बढी सताउने गर्दछ । जाडोयाममा श्वासनलीहरु खुम्चने भएका कारण श्वास फेर्न समस्या हुने डा. कार्की बताउनुहुन्छ ।

बाथ, जोर्नी दुखाई
जाडोयाम शुरु भएसँगै बाथ र जोर्नीको दुखाई पनि धेरैलाई हुन्छ । जाडोयाममा शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम फरक पर्ने भएका कारण जोर्नीको दुखाई हुने डा. कार्की बताउनुहुन्छ । जाडोयाममा बाथ रोगका बिरामी पनि बढी देखिन्छन् ।

टन्सिल
टन्सिल पनि चिसोयाममा धेरै निम्तने समस्या हो । चिसोका कारण हुने टन्सिलबाट बच्न तातो पानी, झोलिलो पदार्थको नियमित सेवन गर्नुपर्ने डा.कार्की बताउनुहुन्छ ।

धेरै रोगको उपचार खानपान नै
जर्नल फिजिसियन डाक्टर लोचन कार्कीले जनाएअनुसार जाडोयाममा देखिने धेरै रोगका समाधानको उपाय भनेको नै खानपानमा ख्याल गर्नु हो। जाडोयाममा तातो कुरा बढी सेवन गर्नुपर्ने र शरिर छोपिने बाक्ला लुगा लगाउनाले नै यी समस्याहरु दूर हुन सक्ने उहाँले बताउनुभयो ।जाडोयाममा पानी कम पिउँदा यस्ता समस्या आउन सक्ने भएकाले तातो पानी प्रशस्त पिउन उहाँको सुझाव छ । यसँगै तातो झोलिलो पदार्थ, गेडागुडी पनि खानुपर्ने बताउनुहुन्छ ।

यो खवर गोरखापत्रअनलाईनबाट लिईएको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्