गंगाजमुना माईमा भोलि भव्य मेला लाग्दै:ईन्द्रेणी टिम सहितको बृहत लोक साँस्कृतिक कार्यक्रम हुने

धादिङको पर्यटकिय तथा धार्मिक गन्तव्य गंगाजमुना माईमा भोलि आईतबार मेला लाग्ने भएको छ।हरेक वर्ष हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेला यसबर्ष भव्यताको साथ मनाउन लागिएको मेला आयोजक मूल समारोह समितिका संयोजक एवं गंगाजमुना गाउँपालिका अध्यक्ष बल बहादुर अधिकारीले जानकारी दिनुभयो ।गत बर्ष कोरोनाको कारण रोकिएको थियो। भोलि २८ गते दिउँसो २ बजेबाट कलाकार कृष्ण कंडेल नेतृत्वका ईन्द्रेणी टोलीको विशेष मनोरञ्जनात्मक प्रस्तुति सहित मेला आयोजना गर्न लागिएको अधिकारीले बताउनुभयो ।

गाउँ कार्यपालिकाको बैठकले मेलालाई भव्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति समेत निर्माण गरेको छ। उपसमितिहरुमा वडा नं. ७ का अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा आर्थिक उप–समिति, वडा नं. ६ का अध्यक्ष भक्त बहादुर लामिछानेको अध्यक्षतामा स्वयंसेवक परिचालन उप–समिति, वडा नं. ४ का अध्यक्ष हरिमान श्रेष्ठको अध्यक्षतामा खाद्य व्यवस्थापन उप–समिति, वडा नं. २ का अध्यक्ष फैसिङं तामाङको अध्यक्षतामा प्रचार प्रसार उप–समिति, वडा नं. ३ का अध्यक्ष विजय कुमार गुरुङको अध्यक्षतामा सरसफाइ, मर्मत संभार तथा खानेपानी उप–समिति, गाउँ कार्यपालिका सदस्य रत्नमाया घलेको अध्यक्षतामा अतिथि सत्कार उप–समिति, वडा नं. ५ का अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा पूजा तथा मञ्च व्यवस्थापन उप–समिति र शुसिल गुरुङको अध्यक्षतामा पार्किङ व्यवस्थापन उप–समिति गठन गरिएको छ।

धार्मिक महत्व बोकेको गंगाजमुना माई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित गंगाजमुना झरनामा हरेक वर्ष हरिबोधनी एकादशीको अवसर मेला लाग्ने गर्दछ ।२८ गते रातभरी नै विभिन्न सांस्कृतिक कार्यक्रम हुने,झाँक्रि नाँच प्रर्दशनी लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती राखिने कार्यक्रम तय भएको छ।हिन्दु धर्म अनुसार हरिबोधनी एकादशीको अघिल्लो दिन (र्कात्तिक शुक्ल दशमी) बेलुकादेखि मेला सुरु भई रातभर जागाराम बसि हरिबोधनी एकादशीको दिन बिहान झरनामा नुहाएपछि मेला सकिन्छ।

ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरनामा गएर नुहाउने तथा मनले चिताएको पुरा होस् भनेर आर्शिवाद माग्ने प्रचलन रहिआएको छ । सो झरना ३ सय मिटर माथिबाट झरेको छ। झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजा आजा गर्ने प्रचलन पनि रहेको छ । मेलामा स्नान गरी पूजा गर्ने, बत्ती बाल्ने, फुलको डोली लैजाने गर्दछन्।

गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ। भक्तजनहरुले गंगा–जमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहि आएको छ।गंगाजमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरुको पनि भीड हुने गर्दछ। विशेष गरी वर्षभरी कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ।

यस मन्दिरमा बली नचढ्ने हुनाले भाकलका लागि पुगेकाहरुले जिउँदो परेवाहरु उडाउने गर्दछन् । धार्मिक तथा पर्यटकीय हिसावले निकै महत्वपूर्ण र आकर्षक भएपनि त्यस ठाँउसम्म पुग्नका लागि सडक सञ्जालको कठिनाई छ।यस मेला भर्न धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा तनहुँ कास्की, काठमाडौंबाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ। हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पुजा हुने गरेपनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ ।

गंगाजमुना मेला भर्न गएकाहरु अघिल्लो दिन रातभर जाग्राम बसी भोलिपल्ट बिहानै झरनामा नुहाएर नारायणको पूजाआजा गरी फर्कन्छन्।भौगोलिक हिसावले विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा लिन सकिन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्