१२ वर्षमाथिका दीर्घ रोगीलाई आजदेखि फाइजर खोप लगाइदै

आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइदैै छ ।सरकारले१२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई  फाइजर खोप दिन लागेको हो। खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ । यस अघि कोभिड विरुद्धको खोप लगाएका खोप केन्द्रमा यसपालि फाइजर खोप लगाउन पाइने छैन ।यो खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । 

सरकारले तोकेका अस्पतालमा मात्रै फाइजर खोप लगाउन पाइनेछ । तोकिएका अस्पतालहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाउन पाइनेछ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट दिइनेछ ।खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

खोप कसले पाउने ?
– १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी
– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका बिरामी
– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी
– अङ्ग प्रत्यारोपण गरेका व्यक्ति
– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ डाक्टरको निगरानीमा उपचार गराइरहेका बिरामी
– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्ति

 कस्तो अवस्थामा फाइजर खोप लगाउन हुँदैन?
– कोभिड–१९ विरुद्धको अन्य कुनै पनि खोप लगाएको
–१२ वर्षभन्दा कम उमेर व्यक्ति
–यो खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको (जस्तै ः एनाफाइलेक्सिस)
 फाइजर–बायोएनटेक खोप तत्कालको लागि लगाउन नहुने अवस्था
– मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन। तर, यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ।
–कोभिड –१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन हुँदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ।
– कुनै पनि प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुँदैन। तर, यस प्रकारको अवस्थामा ठीक भएपछि यो खोप लगाउन हुन्छ।
– उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउनु हुँदैन, तर यस प्रकारको उपचार लिएको ९० दिनपछि यो खोप लगाउन हुन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्