बसले ठक्कर दिँदा पठाओमा सवार दुई जनाको मृत्यु

काठमाडौंको कलंकीमा पठाओ स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मंगलबार साँझ कलंकीस्थित खसी बजारमा प्रदेश–३–०१–००५ख ९३०० नम्बरको बसले प्रदेश ३–०२–०१४प ७४६३ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक धादिङको खरी–२ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाहको मृत्यु भएको प्रहरीले जनाएको छ।
बसको ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको हो ।मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

बसले गलत तर्फबाट स्कुटरलाई ओभरटेक गर्दा दुर्घटना भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।ओम जनता यातायात प्रालिमा आवद्ध बसका चालक सुमन कार्कीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ ।धादिङ ज्वालामुखीका आचार्य पठाओ राइडर हुन्।उनले कार्तिक २५ मा पठाओ कार्यालयमा आफ्नो स्कुटर दर्ता गराएका थिए । दक्षिण कोरियामा ५ वर्ष बसेर फर्केका उनले बाँसबारीस्थित मेनपावरको कार्यालयमा जाँदा आउँदा पठाओमा यात्रु ओसार्न सुरु गरेका थिए ।काठमाडौंमा पठाओ दुर्घटनामा राइडर र यात्रुले ज्यान गुमाएको यो पहिलो घटना हो ।

सो दुर्घटनापछि मृतकका परिवारले पाउने क्षतिपूर्ति र बीमा रकमबारे प्रश्न उठेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूलाई क्षतिपूर्ति दिनेबारे छलफल भइरहेको नेपालस्थित पठाओको कार्यालयले जनाएको छ ।ओम जनता यातायात प्रालिका संचालकले नेपाल बन्दको बेलामा कम्पनीको अनुमति बिना चालकले आफ्नै इच्छामा गाडी चलाएको भन्दै क्षतिपूर्ति दिन आनाकानी गरिरहेको पीडित पक्षले गुनासो गरेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्