धादिङ प्रशासनबाट राहदानी फारम संकलन र राहदानीको द्रुत सेवाको सिफारिस केही समयको लागि बन्द 

जिल्ला प्रशासन कार्यालय धादिङबाट राहदानी फारम संकलन र राहदानीको द्रुत सेवाको सिफारिस केही समयको लागि बन्द हुने भएको छ ।प्रशासनले शुक्रबार एक सुचना जारी गदै मंसिर १ देखि राहदानी विभागबाट विद्युतीय राहदानी (E–Passport) जारी गर्ने कार्य प्रारम्भ गरिएको र मंसिर महिना भरीमा जिल्ला प्रशासन कार्यालय र तोकिएका ईलाका प्रशासन कार्यालयमा समेत विद्युतीय राहदानी जारी गर्ने कार्यको लागि प्रत्यक्ष दर्ता प्रणाली जडान कार्य शुरु गर्न लागिएकोले यस कार्यालयबाट हुँदै आएको एमआरपी फारम संकलन र द्रुत सेवाको सिफारिस मंसिर ५ गतेबाट अर्को सूचना नभए सम्मको लागि स्थगन गरिएको जानकारी गराएको हो।

राहदानी विभागले विद्युतीय राहदानीको लागि कार्यालयमा प्राप्त भएका एमआरपीका पेण्डिङ फारमहरु समेत यथा समयमै फर्छ्यौट गर्नुपर्ने, उपर्युक्त कोठाहरु तयारी अवस्थामा राख्नुपर्ने, आवश्यक टेवल कुर्सी समेतको व्यवस्थापन गर्नुपर्ने र तालिमको लागि राहदानी शाखामा कार्यरत हुने कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएकाले यी कार्यहरु सम्पन्न गर्न एमआरपी फारम संकलन नगर्न भनेको सुचनामा उल्लेख गरिएको छ।

विभागले सेवाग्राहीहरुलाई विद्युतीय राहदानीको लागि राहदानी विभागको वेभसाइट www.emrtds.nepalpassport.gov मार्फत अनलाइन फारम भरी मिति र समय लिएर मात्र विभागमा द्रुतसेवाको लागि लाइभ इन रोलमेन्ट गर्नुपर्ने व्यवस्था गरेकोछ ।
राहदानी विभागका अनुसार करिव एक महिना पछि पुर्ण रुपमा नेपालबाट मागअनुसार विद्युतीय राहदानी जारी हुन सक्ने अवस्था भएकोले र हाल लाग्ने गरेको समय भन्दा कम्तिमा पनि आधा समयमानै जिल्लाहरुमा राहदानी उपलब्ध हुने जनाएको छ।

विद्युतीय राहदानीका लागि निवेदन दिन राष्ट्रिय परिचय पत्र वा सोको नम्वर आवश्यक हुने, हाल ३४ पृष्ठको साधरण विद्युतीय राहदानी मात्र उपलब्ध हुने, मेशिन रिडेबल राहदानी नारायणहिटी स्थित कार्यालय र विद्युतीय राहदानी त्रिपुरेश्वरस्थित कार्यालयबाट जारी हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्