पूर्वाधार विकास कार्यक्रम : अधिकांश बजेट भवन र सडक निर्माणमा

तनहुँ, १२ मंसिर

गण्डकी प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अधिकांश बजेट भवन र सडक निर्माणमा छुट्याइएको छ । तनहुँ २ (क) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले अधिकांश बजेट सामुदायिक भवन निर्माण र सडक स्तरोन्नतीका लागि छुट्याएकी हुन् । पुर्वाधार विकास कार्यक्रमको दुई करोड बजेटको ७७ प्रतिशत भवन र सडकका टुक्रे योजनालाई छुट्याइएको छ ।

पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रदेश सभा सदस्य कोइरालाले बाँडफाँट गर्न पाउने दुई करोड रुपैयाँ ३० योजनालाई विनियोजन गरिएको छ । सामुदायिक भवन, क्याम्पस भवन, कृषि उपज संकलन केन्द्रको भवन र सभाहल निर्माणका लागि मात्रै १३ योजना छनोट गरी ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

नौ वटा सडक योजनालाई ५९ लाख रुपैयाँ, दुई वटा सहिद स्मृति पार्क निर्माणलाई ११ लाख रुपैयाँ, दुई वटा समूहको संस्कृति प्रवर्द्धनमा १० लाख रुपैयाँ विनियोजन भएको छ । खेल मैदानलाई पाँच लाख रुपैयाँ, बाँध कुलो निर्माणमा ६ लाख रुपैयाँ, भ्युटावर निर्माणमा आठ लाख रुपैयाँ र खानेपानी आयोजना निर्माणमा ६ लाख रुपैयाँ विनियोजन भएको छ । 

जनताको आवश्यकतालाई सम्बोधन गर्न खोज्दा भवन र सडक योजनालाई धेरै बजेट परेकाे कोइरालाको दाबी छ । ‘हामीले जनताको माग र आवश्यकतलाई सम्बोधन गर्नुपर्याे । यसपालि बाढी पहिरोले सडकमा धेरै क्षति पुर्याएको हुनाले सडक स्तरोन्नतीका योजना धेरै आए । गाउँगाउँबाट सामुदायिक भवनकाे माग आएकाे छ । जस लिनु भन्दा पनि जनताको आवश्यकतालाई पूरा गर्न खोजेका मात्रै हाैँ’, उनको प्रष्टाेक्ति छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा  समावेश नभएका साना र टुक्रे योजनाका लागि पुर्वाधार विकास कार्यक्रम प्रभावकारी भएको उनले बताइन् ।  

तनहुँ २ (क) प्रदेश सभा निर्वाचन क्षेत्रमा शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका दुई वडा समेटिएका छन् । पालिकाअन्तर्गत शुक्लागण्डकीको २० योजनालाई एक करोड ३४ लाख रुपैयाँ, म्याग्देको आठ योजनालाई ४८ लाख रुपैयाँ र व्यासका तीन योजनालाई १८ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सभा सदस्य कोइरालाले जानकारी दिइन् ।

भवनतर्फ शुक्लागण्डकी नगरपालिकाको सहिद कृष्ण क्याम्पस, जागृती टोल विकास संस्था र नवीन बस्ती टोल विकास संस्थाको भवन निर्माणलाई १०-१० लाख रुपैयाँ, जुवादी कृषि उपज संकलन केन्द्र, भोटेपानी आमा समूह, मुस्ताङचोक आमा समूह र कालीकोट सामुदायिक भवन निर्माण र दलित सामुदायिक भवन संरक्षण तथा पर्खाल निर्माणका लागि पाँच पाँच लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

म्याग्दे गाउँपालिकाको विश्वकर्मा सामुदायिक भवन र घरेडी आमा समूहको भवन निर्माण गर्न तीन तीन लाख रुपैयाँ, किरियापुत्री भवन निर्माणमा तीन लाख रुपैयाँ विनियोजन भएको छ । व्यास नगरपालिकाको दरै कृषि सामुदायिक भवन निर्माणमा आठ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, शुक्लागण्डकीको सहिद स्मृति पार्कको सभाहल निर्माणमा सबैभन्दा धेरै २० लाख रुपैयाँ छुट्याइएको छ । जहाँ उनले बर्षेनि बजेट विनियोजन गर्दै आइरहेकी छन् ।

सडकतर्फ शुक्लागण्डकीको आदर्श मार्ग कालोपत्रे गर्न १० लाख रुपैयाँ, बराहडाँडा भोर्ले सडक स्तरोन्नती, लामीतारा कालिका बाघखोर हुँदै आरन भञ्जयाङ मोटर मार्ग स्तरोन्नतीमा ६-६ लाख रुपैयाँ, सहिद केवी मोटरमार्ग स्तरोन्नती र टुँडा मिलन मार्ग स्तरवृद्धिमा ५-५ लाख रुपैयाँ बजेट परेको छ । म्याग्देको दीर्घ मोटरमार्गलाई ६ लाख रुपैयाँ, छाङ-थर्पु मोटरमार्ग र कुम्लेखोला झोलुङ्गे पुल साउनेपानी मोटरमार्ग स्तरोन्नती गर्न ८-८ आठ लाख रुपैयाँ बजेट छुट्याएको प्रदेश सभा सदस्य कोइरालाले जानकारी दिइन् । 

शुक्लागण्डकीको सहिद स्मृति पार्क निर्माणमा ६ लाख रुपैयाँ र म्याग्देको सहिद स्मृति पार्क मर्मतसम्भारमा पाँच लाख रुपैयाँ बजेट परेको छ । संस्कृति प्रवर्द्धनमा शुक्लागण्डकीको दलित समूह  र व्यासको परियार सेवा समाजलाई तालिमसहित नौमती बाजा वितरण र पोशाक खरिदमा ५-५ लाख रुपैयाँ विनियोजन भएको छ ।

शुक्लागण्डकीको नमुना युवा क्लबको खेल मैदान निर्माणमा पाँच लाख रुपैयाँ, मर्स्याङ्दी बाँध कुलो निर्माणमा ६ लाख रुपैयाँ बजेट परेको छ । म्याग्देको डाँडागाउँ भ्युटावर निर्माण र नौमती बाजा खरिदमा आठ लाख रुपैयाँ र बोरिबोट खानेपानी आयोजनालाई ६ लाख रुपैयाँ बजेट छुट्याईएको छ । 
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्