गंगाजमुना माई मन्दिरमा एक लाख ५२ हजार भेटि संकलन

धादिङको गंगाजमुना गाउँपालिका स्थित गंगाजमुना माई मन्दिरमा एक लाख ५२ हजार भेटी संकलन भएको छ। धार्मिक महत्व बोकेको गंगाजमुना माई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित गंगाजमुना झरनामा गत कात्तिक २८ गते हरिबोधनी एकादशीको अवसरमा लागेको मेलामा एक लाख ५२ हजार भेटी संकलन भएको गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले जानकारी दिनुभयो ।मन्दिरमा संकलन भएको भेटि मन्दिरको पूर्वाधार निर्माणमा खर्च गरिने अध्यक्ष अधिकारीले बताउनुभयो।पूर्वाधार निर्माण तथा मन्दिर व्यवस्थापनको लागि गंगाजमुना विकास समिति नै निर्माण गरेर काम गर्ने उहाँले बताउनुभयो ।

ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरनामा गएर नुहाउने तथा मनले चिताएको पुरा होस् भनेर आर्शिवाद माग्ने प्रचलन रहिआएको छ । सो झरना ३ सय मिटर माथिबाट झरेको छ। झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजा आजा गर्ने प्रचलन पनि रहेको छ । मेलामा स्नान गरी पूजा गर्ने, बत्ती बाल्ने, फुलको डोली लैजाने गर्दछन्।

गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ। भक्तजनहरुले गंगा–जमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहि आएको छ।गंगाजमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरुको पनि भीड हुने गर्दछ। विशेष गरी वर्षभरी कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ।

यस मेला भर्न धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा तनहुँ कास्की, काठमाडौंबाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ। हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पुजा हुने गरेपनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ ।गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा लिन सकिन्छ।

तस्विर गंगाजमुना गाउँपालिकाको फेसबुक पेजबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्