आजदेखि मतदाता नामावली सङ्कलन सुरु,धादिङमा दुई चरणमा हुदै 

धादिङ,१७ मंसिर।
आजदेखि धादिङ सहित देशैभर मतदाता नामावली सङ्कलन कार्य सुरु भएको छ ।निवार्चन आयोगले आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने बताएको छ ।आज देखि पौष ८ गतेसम्म जिल्लाको १३ वटै स्थानीय तहमा २ चरणमा नामावली संकलन कार्यक्रम गरिने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ।

निर्वाचन कार्यालय धादिङका अनुसार पहिलो चरण अन्तरगत मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा मतदाता नामावली संकलन गरिने छ। त्यस्तै दोस्रो चरण अन्तरगत मंसिर २८ गतेदेखि पौष ८ गतेसम्म त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, खनियाबास, बेनिघाट रोराङ, थाक्रे र गल्छी गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गरिने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयले जिल्लाका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगाएत सरोकारवालाहरुसँग नामावली संकलन कार्यलाई थप सहजीकरण गरिदिन आग्रह गरेको छ।हाल जिल्ला निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालयमा फोटो सहितको मतदाता नामावली संकलन कार्य निरन्तर रुपमा सञ्चालन भइरहेको छ। 

अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले बताउनुभयो । 
निर्वाचन आयोगले ६ सय ३७ वटा स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ । मतदाता नामावली सङ्कलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र तराई, भित्रि मधेश तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ । 

१८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका आम नागरिक तथा विभिन्न सरोकारवालाहरूलाई स्थानीय स्तरमै पुगी मतदाता नामावली दर्ता गराउन निर्वाचन आयोगले सबै समक्ष अनुरोध गरेको छ ।तस्वीर: गंगाजमुना गाउँपालिकाको फेसबुक पेजबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्