ओमिक्रोन भेरियन्ट फैलिएसँगै खोपमा फेरि असमानता बढ्ने आशङ्का

काठमाण्डाै – दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वकै सबैभन्दा धेरै रहेको पाइएको छ ।विश्वका कुल सङ्क्रमितमध्ये दक्षिण अफ्रिकामा मात्रै ४६ प्रतिशत रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ । दक्षिण अफ्रिकामा पछिल्लो सात दिनमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण २२५ प्रतिशतले बढेको छ । तर, सङ्क्रमण फैलिँदै गए पनि गम्भीर बिरामी पर्नेको सङ्ख्या भने ६ प्रतिशत मात्रै रहेको सङ्गठनले जनाएको छ । ओमिक्रोन भेरियन्ट देखिएकामध्ये ६ प्रतिशत मात्रै आईसीयूमा भर्ना भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको खोप सल्लाहकार समितिका अनुसार प्रतिरक्षा प्रणाली कमजोर भएकाहरुलाई ओमिक्रोनको सङ्क्रमण हुने गरेको छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई बुस्टर डोज लगाउन पनि समितिको सुझाव छ ।यसैबीच, डब्ल्यूएचओले कोभिड-१९ विरुद्धको खोपमा फेरि असमानता बढ्ने आशङ्का व्यक्त गरेको छ । यसअघि कोभिड-१९ को पहिलो तथा दोस्रो लहर फैलिएका बेला गरिब तथा विपन्न देशहरुले खोप पाउन सकेका थिएनन् ।

डब्ल्यूएचओले ओमिक्रोन भेरियन्टका कारण भयभित भएका धनी देशहरुले अनावश्यक रुपमा खोप भण्डारण गरेर राख्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो । व्यवस्थित खोप भण्डारण भएका धनी देशहरुले गरिब देशलाई बुस्टर डोजका लागि खोप पठाउन पनि  डब्ल्यूएचओको आग्रह छ ।–उज्यालो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्