३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो

काठमाडौं, २९ मंसिर 

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप घटे पनि कर्जा लगानीमा भने आक्रामक देखिएका छन् । बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीबीच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै गएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ कात्तिकमा बैंकहरुको निक्षेप ३० अर्ब रुपैयाँले घटेको छ । २०७८ असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा कुल ४८ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कात्तिकमा ४८ खर्व ४ अर्ब रुपैयाँमा झरेको छ । 

बैंकहरूको निक्षेप घट्दै गएपनि कर्जा लगानीमा भने आक्रामक छन् । २०७८ असोजको तुलनामा २०७८ कात्तिकमा बैंकहरूको कर्जा ५९ अर्बले वृद्धि भई ४५ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट बैंकहरुले निक्षेप संकलनको आधारमा मात्र कर्जा लगानी गर्नुपर्ने गरी कर्जा–निक्षेप (सिडी) रेसियो लागू गरेको छ ।

बैंकहरूले  पुँजीबाट कर्जा लगानी गर्न नपाएपछि बैंकहरूको सिडी रेसियो ९२ प्रतिशत पुगेको छ । जबकि बैंकहरुले सिडी रेसियो ९० प्रतिशतभित्र राख्नुपर्ने व्यवस्था छ । 
रेमिट्यान्स आप्रवाह नकारात्मक र बैंकको अधिकांश कर्जा आयातका लागि प्रयोग भएपछि निक्षेप बढ्न सकेको छैन । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्