जाडाे लागेसँगै तीन सय मेगावाट विद्युत माग वृद्धि

काठमाडौं, ४ पुस 

विद्युतकाे माग तीन सय मेगावाटले वृद्धि भएको छ । जाडो बढेसँगै विद्युतीय उपकरणको प्रयोग र खपत बढाउन नेपाल विद्युत प्राधिकरण सुरु गरेको अभियानका कारण आन्तरिक माग ह्वात्तै बढेको प्राधिकरणले दाबी गरेको छ । 

प्राधिकरणको तथ्यांकअनुसार विद्युतको माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ । उदाहरणका मंंसिर २७ गते प्रणालीमा विद्युतको उच्च माग १५ सय ३९ मेगावाट थियो । यो माग गत वर्षको सोही दिनको १२ सय १७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो । यस आधारमा विद्युतको पिक डिमान्ड गत वर्षको सोही दिनको तुलनामा २६ दशालव ५ प्रतिशत वृद्धि भएको छ । 

यस्तै मंसिर २७ गतेको प्रणालीको पिक डिमान्ड पूर्तिका लागि प्राधिकरणका विद्युतगृहहरूबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युतगृहहरूबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरूबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि चार मेगावाट विद्युत भारततर्फ निर्यात गरिएको थियो । ऊर्जाका मागका आधारमा आधारमा मंसिर २७ गते विद्युत खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको दुई करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो ।  ऊर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८ दशमलव ६५ प्रतिशत बढी हो । 

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत माग पनि ह्वातै बढेको छ । काठमाडौं उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गत वर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमान्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । 

आन्तरिक रूपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरूलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति लिएको छ । 

विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रूपमा खपत बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएकाले पनि माग बढेको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएकाे बताए । प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र  निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्