प्रत्येक आधा घण्टामा एउटा झोलुङ्गे पुल

काठमाडौँ, ०३ माघ ।
नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उहाँले झोलुङ्गे पुलसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभएको हो ।

प्राथमिकताका आधारमा काम अगाडि बढाइने भन्दै मन्त्री पाण्डेले अहिलेको आवश्यकता र रोकिएको कामलाई प्राथमिकता दिइने बताउनुभयो । मन्त्रालयअन्तर्गत शुरु भएर अघि बढ्न नसकेका आयोजना कसका कारण अघि बढ्न नसकेको हो भनी बुझेर तुरुन्त अघि बढाउने उहाँको भनाइ थियो ।

हरेक आधा घण्टामा जनताले झोलुङ्गे पुलबाट खोला पार गर्न पाउन् भनेर झोलुङ्गे पुल निर्माण अघि बढाउन लागिएको मन्त्रालयका सचिव सुरेश आचार्यले बताउनुभयो । पहिले कहाँकहाँ कति आवश्यकता छ भनी नक्साङ्कन गरिने उहाँको भनाइ छ । तीन वर्षमा सकिने गरी आयोजना अघि बढाउन लागिएको हो । उहाँले भन्नुभयो, “हरेक आधा घण्टामा एउटा पुल हुन कति चाहिन्छ अध्ययन गरेर निर्माण गरिनेछ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्