मेरो नगरपालिकाः सक्रिय नगरपालिका

शशी अर्याल, शान्तबजार
मार्च ८ अर्थात् अन्तराष्ट्रिय नारी दिवस । संसारभर विभिन्न कार्यक्रम गरेर यस दिवस मनाउने गरिन्छ । आधा भन्दा बढी जनसंख्या महिलाले ढाकेको हाम्रो देश नेपालमा त झन् यो दिवस नमनाउने कुरै भएन । देशमा रहेका २७६ नगरपालिका मध्ये मेरो नगरपालिका नीलकण्ठ नगरपालिकामा पनि कूल जनसंख्याको करिब आधा हिस्सा महिलाले नै ओगटेको छ । देश विदेशमा उल्लासमय तवरले मनाइने नारी दिवस नीलकण्ठ नगरपालिकाले पनि भब्य रुपले नै मनाउने भयो ।

११३ औं नारी दिवसको उपलक्ष्यमा चरण चरणमा विभिन्न कार्यक्रम राखीभब्य र सभ्य तरिकाले नारी दिवस मनाउन मेरो नगरपालिकाले विभिन्न संघ संस्थालाई कार्यक्रममा उपस्थितिको लागि पत्र पठायो । महिला सहकारीबाट अन्तरक्रियात्मक कार्यक्रमको लागि एउटै संस्थाबाट ५ जनालाई आमन्त्रण गरिएको थियो । म पनि एक महिला सहकारीमा आबद्ध भएको नाताले ज्यादै खुशी भएं ।

अर्थतन्त्रको तेस्रो खम्बाको मान्यता दिए पनि सरकारले सहकारीलाई बिभेद गरेको आरोप लाग्ने गरेको समयमा स्थानीय सरकारले महिला सहकारीलाई यस्तो अवसर दिएकोमा नगरपालिका प्रति सम्मानभाव जागेर आयो । पत्रमा कार्यक्रम शुरु हुने समय दिउँसोको १ः०० बजे तोकिएको थियो । महिलाको सेरोफेरोमा अन्तरक्रियात्मक कार्यक्रम भएकोले पनि म व्यक्तिगत रुपमा पनि ज्यादै उत्साही थिएँ ।

यो वर्षको नारी दिवस सार्थक हुने भयो भन्ने पनि लागिरहेको थियो । कार्यक्रम शुरु हुने समय १ः०० बजे तोकिएको थियो । सोचें “नेपाली समय हो १ः३० सम्म पुग्नुपर्ला । चांडै पुगेर किन पर्खी बस्नु ?” फागुन २४ गते दिउँसो १ः१५ बजे स्कुटीमा एक अर्की सहभागीलाई राखेर कार्यक्रम स्थलतिर लागें ।

अन्तरक्रियाको लागि केही तयारीका साथ पनि गएकिले अलि उत्साही नै थिएँ । कार्यक्रम स्थल टाढा थिएन । १ः२० मै स्थल पुगियो । गेटमा पुग्दा ४/५ जना दिदी बहिनी बाहिरिंदै हुनुहुन्थ्यो । उहाँहरुले कार्यक्रम सिद्धिएको जानकारी दिनुभयो । हामीले अप्ठेरो महशुश ग–यौं । “२० मिनेटमै कार्यक्रम सिद्धियो ?” मेरो मुखबाट आवाज निस्कियो । “कहाँ हुनु, कार्यक्रम त बिहान ८ः०० बजेदेखी नै हो नि ।” एक पत्रकार बहिनीले भन्नुभयो । चिठी डाउनलोड गरिराखेकी थिएँ । कतै झुक्किएँकी भनेर हेरें । समय त दिउँसो १ः०० बजे नै थियो । ती बहिनीलाई भनें । उनले भनिन, “बक्तिृत्वकला बिहान ८ः०० बजेदेखी र अन्तरक्रिया दिउँसो १ः०० बजेदेखी गर्ने भनेको रे बक्तृत्वकलामा मान्छे धेरै नभएर छिटो सिद्धिएकोले अन्तरक्रिया कार्यक्रम पनि अगाडि नै गरेको रे । ”

मझसंग भएँ । “मान्छे धेरै नभएर कार्यक्रम शुरु हुने निर्धारित समय अगाडि नै कार्यक्रम खत्तम ?को संग भयो त अन्तरक्रिया? यो कार्यक्रमको लागि त १ः०० बजेको समय दिइएको थियो । अन्तरक्रियाका सहभागी त धमाधम आउँदै थिए । स्मार्ट नगरपालिकात यस्तो पो हुँदो रहेछ त । समय अगावै काम खतम । हुनत २० मिनेट ढीलो पुग्नु मेरो गल्ती होला तर २० मिनेटमै सिद्धिने कस्तो अन्तरक्रिया गरेछ त मेरो नगरपालिकाले ?लक्षित बर्गले कति फाइदा लिन सके होलान् ?

नगरपालिकाको अरु कार्यक्रम पनि यस्तै होलाकि ?” मेरो मनमा यस्ता धेरै प्रश्नहरु उब्जिए । जे भएपनि मेरो नगरपालिका यति छिटो, छरितो र सक्रिय भएको देखेर चाहिं धेरै खुशी लाग्यो । शुभकामना ।।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्