बाँदर नियन्त्रणको माग गर्दै प्रदेशसभा भवनमा धादिङका किसानको प्रदर्शन

धादिङ,१३ असार ।
बागमती प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि कुनै पनि कार्यक्रम नल्याएको भन्दै धादिङका किसानले वाग्मती प्रदेशसभा भवन अगाडि धर्ना दिएका छन् । बुधबार धादिङका तीन गाउँपालिकाका बाँदरपीडित कृषकहरुले हेटौंडास्थित प्रदेशसभा भवनमा नाराबाजीसहित धर्ना दिएका हुन् ।
प्रदर्शनमा निलकण्ठ नगरपालिका, सिद्धलेक र ज्वालामुखी गाउँपालिका १ सय ५० जना कृषक हेटौंडा पुगेका थिए । कृषकहरुले प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि बजेट व्यवस्था नगरेको र कार्यक्रम पनि नल्याएकाले गुनासो गरेका छन् ।

उनीहरुले ’किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन’, ’बादर आतंक बन्द गर, प्रदेश सरकार कहाँ छ ?’ लगायतका नारा लगाएका थिए । बाँदरले खेतपाती सबै नष्ट गरेकोले गाउँबाटै विस्थापित हुनु पर्ने अवस्था आएको निलकण्ठ नगरपालिका–९ पाल्पाभन्ज्याङका कृषक नवराज दुवाडीले बताए ।

‘हाम्रो पीडा कसैले पनि नसुनेकाले प्रदेश सरकारको ध्यानाकर्षण गराउन हेटौंडा आएर नारा जुलुस गरेका हौं ।’ बादर आतंकको कारण ठूलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडित कृषक दुवाडीले आरोप लगाएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्