ए डिभिजन लिग : संकटा र सातदोबाटोको बराबरी

काठमाडौं, २३ पुस 

संकटा क्लबले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा नव प्रवेशी सातदोबाटो युथसँग १-१ को बराबरी खेलेको छ । यससँगै संकटाले शीर्ष स्थानका मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबसँग अंक दूरी घटाउने मौका गुमाएको छ । 

बराबरीपछि संकटा १४ अंकका साथ तेस्रो स्थानमा यथावत छ । शुक्रबार जितेको भए संकटाले दोस्रो स्थानको मनाङसँग अंक बराबर गर्ने थियो । तर, बराबरीपछि त्यो मौका गुमायो । मछिन्द्र १७ अंकका साथ शीर्ष स्थानमा छ ।

मनाङले शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने मछिन्द्रले पुछारको फ्रेण्ड्सविरुद्ध खेल्नेछ । बराबरीपछि सातदोबाटो भने ९ अंकका साथ आठौं स्थानमा यथावत छ । 

सातदोबाटोले विपक्षी गोलकिपर राजाबाबु थापाले गरेको गल्तीको फाइदा उठाउँदै २३औं मिनेटमा अग्रता लिएको थियो । संकटाका रक्षक निरज बस्नेतले दिएको ब्याक पासलाई गोलकिपर राजाबाबुले राम्रोसँग क्लियर गर्न सकेनन् । राजाबाबुले सातदोबाटो युथका दीपकराज सिंह ठकुरीलाई छलाएर क्लियर गर्न लाग्दा चिप्लिएर लडे । त्यसपछि प्रहार गरेको बल सातदोबाटोकै फरवार्ड सुशील राईको छातीमा लागेर पोष्ट भित्र छिर्‍याे । 

३०औं मिनेटमा सातदोबाटोका सुदीप गुरुङ आभागी बने । दीपकराजले दिएको ब्याक पासमा सुदीपले २३ यार्डबाट हानेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । 

त्यसको दुई मिनेट बित्न नपाउँदै संकटाका जया गुरुङले बराबरी गोल फर्काए । ३२औं मिनेटमा दीपेश आलेमगरको पासमा जय गुरुङले २५ यार्डबाट दोस्रो बार च्यापेर हानेको लामो प्रहारलाई सातदोबाटोका गोलकिपर अविशेक बरालले रोक्न सकेनन् । 

दोस्रो हाफमा सातदोबाटोले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य भयो ।

photo:ANFA

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्