एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्विरोध

धादिङ,२४ पुस।
नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्विरोध चयन हुनुभएको छ ।

जिल्ला सदरमुकाम धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा जारी आठौँ जिल्ला अधिवेशन अन्तरगत निर्वाचनका लागि शनिबार भएको मनोनयन दर्तामा अध्यक्ष पदमा अन्य व्यक्तिको उम्मेदवारी नपरेसँगै त्रिपाठी निर्विरोध निर्वाचित हुनुभएको हो।तर औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।

अध्यक्ष बाहेकको पदमा भने धेरै सङख्यामा उम्मेदवारी परेकोले निर्वाचन प्रक्रियाबाट टुंगो लगाईने निर्वाचन समितीका संयोजक उपेन्द्र नरसिंह अधिकारीले जानकारी दिनुभयो ।उपाध्यक्षमा धनबहादुर घले,उमेश कुमार थापा र गंगादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

सचिवमा हरिराम लोहनी, अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’ को उम्मेदवारी परेको अधिकारीले बताउनुभयो। अन्य पदमा भने उम्मेदवारी दिनेको संख्या धेरै रहेको छ।उपसचिवमा मात्रै १२ जनाको उम्मेदवारी परेको निर्वाचन समितीका संयोजक अधिकारीले जानकारी दिनुभयो ।

अधिवेशनमा नयाँँ नेतृत्व चयनका लागि जिल्लाभरबाट सात सय १ जना प्रतिनिधि सहभागी छन् ।अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर बन्ने १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्ने छ।हाल बन्दसत्र जारी रहेको छ।

को हुन भूमि त्रिपाठी ?

धादिङको बेनिघाट गाउँपालिका वडा नम्वर ३ मलेखुमा जन्मनु भएका त्रिपाठी २०५४ मा पार्टी विभाजनपछि सक्रिय राजनीतिमा लाग्नु भएको हो।२०५४ सालमा नेकपा एमालेको जिल्ला सदस्य हुनुभएका त्रिपाठी २०६० सालमा नेकपा एमाले धादिङको सचिव त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालबाट नेकपा एमाले धादिङ जिल्ला अध्यक्षको जिम्मेवारी बहन गर्दै आउनु भएको छ ।तत्कालिन पार्टी अध्यक्ष खेम लोहनी नेकपा एमालेको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएपछि त्रिपाठीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको थियो ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्षको जिम्मेवारी समेत त्रिपाठीले पाउनु भएको थियो।
गत संघीय निर्वाचनमा धादिङ क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १ सय ५३ मत अन्तरले पराजित गर्दै ४९ हजार १ सय २१ मत ल्याएर त्रिपाठी सांसद पदमा विजयी हुनु भएको थियो ।

गजुरीको आदर्श माध्यमिक विद्यालयबाट २०३६ सालमा अनेरास्वियूको प्रारम्भिक कमिटीबाट राजनीति यात्रा शुरु गरेका त्रिपाठी काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा अनेरास्ववियूमै बाटै नेपाल ल क्याम्पसमा स्ववियू सचिव समेत हुनुभएको थियो ।२०५४ सालमा नेकपा एमालेको जिल्ला सदस्य हुनु भएका त्रिपाठी २०६० सालमा नेकपा एमाले धादिङको सचिव त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङ जिल्ला कमिटीको कार्यवाहक अध्यक्ष हुनु भएको थियो ।

तीन दशक देखि कम्युनिष्ट राजनीतिमा सक्रिए त्रिपाठीले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नु भएको छ।त्रिपाठी  हठी स्वभावका स्पष्ट वक्ताका रुपमा चिनिनुहुन्छ ।(श्रोतःकेशव अधिकारी)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्