बालाजुमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेका धादिङका बस चालकले गरे आत्मसमर्पण

धादिङ,०६ फागुन।

काठमाडौँ महानगरपालिका–१६ बालाजुमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेका धादिङका बस चालकले आत्मसमर्पण गरेका छन्।

बिहीबार बिहान दुई जना पैदलयात्री रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं–१६ जागृति टोल बस्ने करिब ५० वर्षीय दुर्गामाया थापा मगरलाई ठक्कर दिई भागेका बसका चालक धादिङको सिद्धलेक गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदिप थपलियाले जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमर्पण गरेका हुन् ।

थपलिया गएराति ९ बजे प्रहरी कार्यालयमा आईपुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो। बिहीबार बिहान करिब ५ बजेर ५५ मिनेटमा थपलियाले हाँकेको बागमती प्रदेश–०१–००५ ख ९३१४ नम्बरको बसले दुईजनालाई किचेको थियो ।

उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि गाडी फरार भएको हुनाले अनुसन्धान अधिकृतहरूले कुन रुटको कस्तो गाडीले दुर्घटना गराएको भनेर पनि पत्ता लगाउन सकेका थिएनन् ।

अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार दुर्घटना भएको ठाउँ गंगाहल नजिक सिसिटिभी पनि थिएन । धादिङ–काठमाडौँ रुटमा चल्ने बस सहित पक्राउ परेका चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुमा पठाईएको प्रहरीले जनाएको छ ।घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्