गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो । नेपालीको महान् चाड दसैँको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए । दसैँमा अधिकांश ठाउँमा राम्रै घाम लाग्यो। मनसुन सकिएकाले अब भारी वर्षा हुन्छ भन्ने अनुमान थिएन । त्यसैले पनि कात्तिकमा महिना (बेमौसम) मा यति धेरै वर्षा हुने कुरा अनुमानभन्दा बाहिरको हो ।
यद्यपि जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मध्य दसैँमा असोज ३१ गतेको मिति तोकेर विभिन्न प्रणाली विकसित भएकाले भारी वर्षाको सम्भावना रहेको हुँदा सार्वधानीको चेतावनी दिएको थियो । असोज २८ मा पहिलो र असोज ३० गते दोस्रो विशेष बुलेटिन नै सार्वजनिक गरी सावधानीको अनुरोध गरिएको वरिष्ठ मौसमविद् वरुण पौडेल सुनाउनुहुन्छ ।
टन्टलापुर घाम लागिरहेका बेला उक्त चेतावनीलाई कतिपयले खासै वास्ता नगरेको पनि हुनसक्छ । विडम्बना असोजको अन्तिम दिनबाट मुलुकका विभिन्न जिल्लामा भारी वर्षा सुरु भयो । पूर्णिमासम्म दसैँको टीका लगाउने चलनअनुसार मानिस आफन्तकोमा टीका थाप्दै थिए भने घर गएका कार्य क्षेत्रमा फर्किनसमेत भ्याएका थिएनन् ।
लगातारको भारी वर्षा (मनसुनी वर्षाझैँ) का कारण कात्तिकको पहिलो दिनबाट भने मानवीय र भौतिक क्षतिका घटना सार्वजनिक हुन थाल्यो । असोज १, २, ३ गतेको तीन दिनको अवधिमा १०१ जनाले बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउन पुगे । अझै ४१ जना हराइरहेका छन् । सयौँ परिवार विस्थापित भएका छन् भने झण्डै २० जिल्लामा भौतिक संरचना, सडक, पुल, विद्युत्, टेलिफोन सेवा नराम्ररी प्रभावित भएको छ । अझै क्षतिको यकिन विवरण भने आइसकेको छैन । कात्तिकमा यति ठूलो वर्षा भएर मुलुक नै प्रभावित हुने गरी ठूलो जनधनको क्षति गराउने कुरा अप्रत्यासित र अकल्पनीय नै हो । जलवायु परिवर्तनको असर हो की भैपरी आउने घटना यसमा आआफ्नै धारणा मानिसमा छ ।
जलवायु परिवर्तन विज्ञ तथा नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष डा ङमिन्द्र दाहाल अक्टोबरको दोस्रो हप्तामा थोरै पानी पर्ने गरे पनि यती धेरै नपर्ने विगतको अनुभव सुनाउनुहुन्छ । “वर्षा सकिएपछि यसरी ठूलो पानी पर्नु जलवायु परिवर्तनको असर हो, परिवर्तन आयो भन्ने कुरा अहिलेको वर्षाबाट हामीले बुझ्नुपर्छ”, दाहालले भन्नुभयो ।
उहाँका अनुसार कतिपय स्थानमा मनसुन भरी पर्ने पानीभन्दा धेरै यो तीन/तीन दिनमा परेको उहाँको भनाइ छ । यसले राम्रो सङ्केत गर्दैन, जलवायु परिवर्तन भनेको यही हो, कतिबेला के हुन्छ थाहा हुन्न, ३०/४० वर्षको तथ्याङ्क चाहिन्छ, भनिन्छ त्यो एक ठाउँमा होला तर अदलीबदली चाहिँ डरलाग्दो हिसाबले भइरहेको छ, यसलाई हामीले मनन गर्नुपर्छ”, उहाँले थपनुभयो । सुदूरपश्चिममा केही ठाउँमा त मनसुनकै रेकर्ड तोडेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार यस्ता घटना हरेक ५० देखि १०० वर्षमा एक पटक देखिने हो । डा दाहाल अब यस्ता घटना बाक्लिने दावी गर्नुहुन्छ । यसले अब तीन÷चार महिना लामो खडेरी हुने सङ्केत दिएको पनि उहाँले जिकिर गर्नुभयो । “त्यसको सङ्केत प्रशान्त महासागरका गतिविधिले देखाइरहेको छ, लान्दिनाको प्रणाली अलि सक्रिय देखिएको छ, त्यसले खडेर निम्त्यिाउने उहाँको विष्लेषण छ । उहाँले यही प्रकृतिको घटना नदोहोरिए पनि अर्को नयाँ स्वरुपका घटना देखिन सक्ने चेतावनी दिनुभएको छ ।
एकै चोटी पानी खनिनु पनि जलवायु परिवर्तनको सङ्केत भएको अध्यक्ष डा दाहालको जिकिर छ । गत वर्ष पर्वतमा होस् या सिन्धुपाल्चोकको जुगलमा एकै ठाउँमा धेरै वर्षा हुँदा भेल पहिरो गएर ठुलो जनधनको क्षति भएको थियो । यही साल मनसुनका बेला (असार १ र १६ गतेको वर्षा) मा सिन्धुपाल्चोकको हेलम्बुमा मेलम्ची खोलाको शिरदेखि अकल्पनीय बाढी पहिरो जाँदा हेलम्बु र मेलम्चीमा घरका चार तला माथिसम्म बाढी पुगेको थियो । सयौँ घरको निशाना फेला पार्न सकिने अवस्थाको छैन ।
औषतभन्दा बढी वर्षा भएर यही अक्टोबर ११ बाट मनसुन बाहिरिएको एक हप्तामै झण्डै÷झण्डै मनसुन अवधि कै क्षतिको अङ्क पछ्याउँदै बाढी, पहिरो र डुबानले वितण्डा मञ्चायो । प्राप्त विवरणअनुसार मनसुन अवधिमा १३६ जनाको मृत्यु भएको थियो भने ४५ जना मानिस हराइरहेका छन् ।
अहिलेको असोज ३१ देखि कात्तिक ३० को अवधिमा भारी वर्षापछिको बाढी पहिरो र डुबानमा परेर १०१ को मृत्यु भएको छ भने ४१ जना हराइरहेका छन् । खेतबाट भित्र्याउन ठिक्क पारिएको अर्बौंको धान नष्ट भएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यसपटक मनसुन सकेलगत्तै पश्चिमबाट आउने प्रणाली र बङ्गालको खाडीबाट आएको न्युन चापीय प्रणाली मिसिएर भारी वर्षा भएको हो । मौसमविद् पौडेलले भन्नुभयो, “कहिलेकाहीँ यस्ता घटना हुन्छ, यो दुर्लभ घटना हो, विगतमा पनि अक्टोबर महिनामा यस्ता घटना भएको पाइन्छ, भारतको केदारनाथमा पनि मनसुनसँगै यसैगरी दुई प्रणाली मिसिएको थियो ।”
मनसुन बाहिरिँदै गर्दा बङ्गालको खाडीमा एक खालको न्यून चापीय प्रणाली विकसित भएको र त्यसमा अर्को पश्चिमी वायु पनि सक्रिय भई दुवै प्रणालीको प्रभावले भारी वर्षा हुन पुगेको मौसमविद्को भनाइ छ तर त्यो जलवायु परिवर्तनसँग जोडिने विज्ञहरु बताउँछन् । मौसम विज्ञान विभागको जलवायु विष्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेल यसपालि मनसुन अवधिभर भइराख्ने भन्दा १५ प्रतिशत बढी वर्षा भएको थियो । पोष्ट–मनसुनमा पनि यसपाली निक्कै धेरै वर्षा भएको उहाँ बताउनुहुन्छ ।
मनसुन सकिएपछिको यो वर्षा तीस वर्षको औषत वर्षाभन्दा बढी भएको उहाँको भनाइ छ । यस वर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरिएको थियो । मौसमविद् डा कँडेल अक्टोबर १ देखि २१ (बिहीबार)सम्म मुलुकका २० वर्षा मापन केन्द्रमा २५३ मिलिमिटर औषत पानी पर्ने बताउनुहुन्छ तर त्यहाँ सरदरमा ३४२ प्रतिशत पानी परेको छ । जुन उक्त अवधिमा पर्ने पानीभन्दा १८७ मिलिलिमटर बढी हो । त्यसलाई विष्लेषण गर्दा उक्त अवधिमा २४२ प्रतिशत बढी पानी परेको डा कँडेलले बताउनुभयो ।
गएको सेप्टेम्बरमा दक्षिण एसियाली जलवायु आँकलन मञ्चको बैठकले प्रदेशको १ को दक्षिणी भाग, प्रदेश २, बागमती, लुम्बिनीको दक्षिणी भेगमा अक्टोबरमा बढी वर्षा हुने आँकलन गरेको थियो तर उक्त मोडलले सुदूरपश्चिम र कर्णालीमा कति पानी पर्छ भनेर यकिन गर्न सकेको थिएन । “उक्त मोडलले देखाएअनुसार नेपालको पूर्वमा मिल्न आयो सुदूरपश्चिममा भने त्यो सिग्नल देखाएन, बढी पर्न पनि सक्छ नपर्न पनि सक्छ भन्ने थियो, तर त्यस क्षेत्रमा पनि पानी ठुलो प¥यो”, डा कँडेलले रासससँग भन्नुभयो ।
गत वर्ष नेपालमा एकदम बढी सुक्खा थियो, त्यसले विभिन्न क्षेत्रमा डडेढोको सामना गर्नुप¥यो । आगो निभाउन हेलिकोप्टर नै प्रयोग गर्नुपरेको थियो। उक्त मञ्चले अक्टोबर, नोभेम्बर, डिसेम्बरमा केही बढी पानी पर्छ भन्ने सङ्केत दिए पनि नेपालमा पूर्वानुमान गर्ने प्रविधि राम्रो छैन । कँडेलका अनुसार यस्ता घटना कुनै पनि बेला हुनसक्छ भन्ने नै हो ।
सामान्यतया विगतमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ थियो। त्यसको दुई दिनअघि नै मनसुन भित्रिएको थियो भने आठ दिनपछि बहिर्गमन भएको थियो । नेपालमा सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिनेछ । कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने र बाहिरिने हुन्छ । यसपालि पनि त्यही भएको मौसमविद्को भनाइ छ । –रासस