तिहारका लागि काठमाण्डौबाट बाहिरिनेलाई कोरोना खोप लगाईने

तिहारका लागि काठमाण्डौबाट बाहिरिनेलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ।अहिले बिहानदेखि नै काठमाण्डौ उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाण्डौबाट बस छुट्ने मुख्य पाँच ठाउँ कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा खोप केन्द्र राखिएका छन् । पहिलो र दोस्रो दुवै मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो। 

पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइनेछ।

परिचयपत्र भएका १८ वर्ष भन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने डाक्टर अधिकारीले बताउनुभयो। यी पाँच ठाउँबाट आज र भोलि खोप दिइनेछ । त्यसपछि थप निर्णय गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्