देशका धेरै ठाउँको वायु प्रदूषण बढेको छ । विराटनगर, सिमरा, कीर्तिपुर, रत्नपार्क, पोखरा र धनगढीमा वायु प्रदूषण निकै बढेको छ ।सिमराको प्रदूषण १ सय ९६ एक्यूआई, विराटनगरको १ सय ८१, कीर्तिपुरको १ सय ५६, रत्नपार्कका १ सय ५७ र धनगढीको १ सय ५४ एक्यूआईसम्म पुगेको त्यहाँ रहेका स्टेसनहरुले देखाएका छन् ।
यो विश्व स्वास्थ्य सङ्गठनले भनेको स्वस्थ वायुको मापदण्डभन्दा निक्कै धेरै हो ।सङ्गठनका अनुसार स्वस्थ एक्यूआई ५० भन्दा तल हुनुपर्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा तल निर्धारण गरेको छ । एक्यूआई २ सयभन्दा धेरै भएमा स्वास्थ्यका लागि अति जोखिमपूर्ण मानिन्छ । वायु प्रदूषण अझै बढ्न नदिनका लागि जङ्गलमा डढेलो नलगाउन, फोहोर नबाल्न सचेतनाका कार्यक्रमहरु सुरु गरिएको वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बताउनुभयो ।
गएको वर्षको हिउँदमा प्रदूषण उच्च भएर विद्यालयसमेत बन्द गर्नुपरेको भन्दै त्यस्तो अवस्था आउन नदिनका लागि सचेतनाका कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । चिसो बढ्दै जाँदा घाम नलागेको र हावा नचलेका कारण वायुमण्डलमा भएका धुलो, धुवाँका कण सतहमा थिग्रिएका छन् । त्यही कारण वायु प्रदूषण बढेको वातावरणविद्हरू बताउँछन् ।
यस्तै आउने सोमवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन्।आज र भोलि पनि देशभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।कतैकतै घामको किरण जमिनको सतहमा केही समय देखिए पनि मौसम पूर्ण खुल्ने सम्भावना भने नभएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार अहिले सबैजसो उपत्यका र तराईका धेरैजसो ठाउँमा बाक्लो तुवाँलो लागेको छ ।न्यूनतम तापक्रम खासै नघटेको भए पनि अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको छ।यस्तै पानी पार्ने न्यूनचापीय प्रणाली विकसित भइरहेकाले आज राति भने प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। –उज्यालो