टि २० विश्वकप छनोट आजबाट:नेपालले आज ओमानसँग खेल्दै

नेपालले आइसिसी टि २० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज पहिलो खेलमा ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यान्न ११ः४५ मा ओमानको अलअमरेत क्रिकेट मैदानमा हुनेछ । 

नेपाल ओमानमाथि सहज जित हात पार्दै सुखद् सुरुवातको योजनामा छ भने घरेलु टोली ओमान पनि आफ्नै मैदानमा जितको खाेजीमा हुनेछ । ग्लोबल छनोटअघि नेपालले ओमानमै चारदेशीय टी–२० सिरिज खेल्दै तयारी समेत गरेको थियो । जसमा नेपालले पहिलो खेलमा ओमानलाई नै पराजित गरेको थियो ।

ब्याक इन्जुरीका कारण तीव्र गतिका बलर करण केसी टाेलीबाट बाहिरिँदा गुलशन झा आएका छन् भने टोलीबाट युवा स्टार अलराउन्डर कुशल मल्ल, ओपनर प्रदीप ऐरी र स्पिनर साहब आलमलाई रिजर्भमा राखिएकाे छ । 

आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि  ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपाल सहित क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन्। नेपालले आज आयोजक ओमान्सँग खेलेसँगै ७ फागुनमा फिलिपिन्स र ९ फागुनमा  क्यानडाविरुद्ध खेल्नेछ । 

दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।

नेपालको टोलीः-

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, गुलशन झा, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र लोकेश बम ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्